बुढीगण्डकी आयोजना ठोस रुपमा अगाडि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

डिसी नेपाल
१ फागुन २०७९ २२:३९
20
Shares

गोरखा । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम ठोस रुपमा अगाडि बढ्ने बताएका छन् । जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आज आयोजना गरेको नागरिक सम्मान कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजनाले अहिले पनि ठोस रुपमा गति लिन नसके आयोजना निर्माण काम धेरै पछाडि पर्ने बताए ।

“बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाउँछौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसको निर्माण प्रक्रिया अगाडि बढ्छ, यो हाम्रो दृढता हो ।” उनले गोरखाको बेनिघाट लार्के सडकखण्डलाई बेनिघाट रोइला सडकको रुपमा परिवर्तन गरी निर्माण कार्य अगाडि बढाउने योजनामा सरकार रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले विकास र सम्मृद्धिलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउने पक्षमा सरकार रहेको बताए ।

राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियामा देशलाई लैजानुपर्नेमा उनले जोड दिए । लोकतन्त्रलाई थप समुन्नत बनाउनु नेपालको पछिल्लो राजनीतिक कार्यभार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताको जीवन फेर्ने विकास र समृद्धिको कामलाई पनि तत्कालको मुख्य जिम्मेवारी बनाउनुपर्ने आवश्यकता औँल्याए । “हामीले युगान्तकारी परिवर्तनको कुरा गरेर खाली राजनीतिक क्षेत्रको अधिकार मात्र प्राप्त गरेको होइन”, उनले भने, “जनताका जीवनका आवश्यकता पूरा भएर नयाँ जीवन प्राप्त ग¥यौँ भनेर त्यस प्रकारको अनुभूति दिलाउने गरी काम गर्नु जरुरी छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.