जनयुद्ध दिवसको सरकारी उत्सव, नेपाली सेनाको चुनौती? उपद्रवका संकेतहरु छरपस्ट

डिसी नेपाल
२ फागुन २०७९ ७:००
488
Shares

काठमाडौं। माओवादी नेता एवं १० वर्षे सशस्त्र विद्रोहका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिपरिषदबाटै निर्णय गराएर जनयुद्ध दिवस को सार्वजानिक विदा घोषणा गरेकै दिन नेपाली सेनाको हेडक्वार्टर भद्रकालीमा जर्नेल र तिनका स्टाफहरु सामेल गरिएका थिए।

घोषितरुपमा नभने पनि नेपाली सेनाले जनयुद्ध दिवसको सरकारी विदाका दिन जंगी अड्डामा जर्नेलहरुको भेला राखेर अघोषित रुपमा सो दिवसको उल्लंघन गरेको थियो। सामान्यतया औपचारिक सैनिक कार्यक्रमहरु सरकारी विदाका दिन राखिँदैन।

जसरी जनयुद्ध नामको सरकारी विदा अस्वाभाविक थियो त्यसैगरी सैनिक जर्नेलहरुको भेला पनि विदाको दिन अस्वाभाविक थियो।

सैनिक स्रोतका अनुसार, कार्यक्रम पहिले नै तय गरिए पनि सरकारी विदा परेमा त्यसको भोलिपल्ट सार्ने चलन थियो तर यसपटक त्यसो गरिएन। प्रधानमन्त्रीको निर्णयलाई प्रत्यक्ष चुनौती दिन नसके पनि अप्रत्यक्षरुपमा सैनिक मुख्यालयमा कार्यक्रम राखेर चुनौती दिन खोजेको सन्देश प्रवाह भएको छ। पृ

तनापतिहरुको समन्वयात्मक बैठक भनेर दुई दिन राखिएको सो भेलाको सरकारी विदाका दिन समापन कार्यक्रम गरिएको थियो।

(हेर्नुहोस् सैनिक मुख्यालयले जारी गरेको कार्यक्रमको तस्वीर)

कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले पृतनापतिहरुको तर्फबाट व्यक्त भएका सुझावहरु र सैनिक नेतृत्वको दृष्टिकोणबारे बोलेका थिए। उनले जनयुद्ध दिवस विदाबारे कुनै टिप्पणी भने गरेका थिएनन्। माओवादी र नेपाली सेना आमने सामने भएर सशस्त्र द्वन्द्वका बेला एकअर्का विरुद्ध लडेका थिए।

फागुन १ गतेको दिन पारेर यातायात मजदुरहरुले राजधानी काठमाडौंमा निकै सन्सनी मच्चाए। नेपाल प्रहरीका दुई भ्यान र प्रहरी विटमा पनि आगजनी गरेर र पुरानो हिंसात्मक प्रदर्शनहरुको पुन झल्को दिए।

गृहमन्त्रीसमेत आफैं रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि यो अर्को चुनौती थियो। यो प्रदर्शनका कारण सर्वसाधारणहरु कामबाट आ-आफ्ना वासस्थान फर्कन पनि मुस्किल परेको र हिंसाग्रस्त क्षेत्रमा जस्तो दुबै हात माथि उठाएर सरेण्डर गरेको मुद्रामा सर्वसाधारण हिँड्नु परेको थियो।

उता, पूर्वराजा ज्ञानेन्द्रले पनि फागुन १ गतेकै दिनलाई राजतन्त्र फर्काउने अभियानको शुरुवातको दिन बनाए, झापाबाट।

भारतको सत्तारुढ दल विजेपीको पनि मातृ संस्था मानिएको हिन्दु स्वयंसेवक संघको भित्री सहयोग र योजनामा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेतृत्व गर्दै राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान नाम दिएर यो कार्यक्रम गरिएको थियो।

पूर्वराजा ज्ञानेन्द्र र उनको सम्पूर्ण परिवार नै सो कार्यक्रममा सरिक थियो भने पूर्वराजाले कार्यक्रमको शुभारम्भ गरेका थिए। पदयात्राका क्रममा पूर्वयुवराज पारस त सुरक्षाकर्मीविरुद्ध हातै छोडेर खनिएका पनि थिए।

यता राजधानीमा भने भारतका विदेश सचिव विनयमोहन क्वात्राको दौडधूप पनि उल्लेख्य देखियो फागुन १ मै। सरकारी विदाका दिन क्वात्राको भ्रमणका दिन परराष्ट्र मन्त्रालय खोलियो र मन्त्री विमला राईसँग क्वात्राले शिष्टाचार भेट गरेका थिए।

उनले प्रधानमन्त्री दाहाललाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका लागि निम्ता गर्न चाहेको बताएका थिए। क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे।

उनले परराष्ट्र सचिव भारतराज पौडेलसँग दुईपक्षीय वार्ता गरे भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेट्न भ्याए।

बर्तमान गठबन्धनलाई भत्काएर दाहाल र देउवाको पुरानै गठबन्धन कायम गराउने भित्री उद्देश्यसहित आएका उनको मिसन कत्ति सफल हुन्छ अब केही दिनमै देखिने छ। तर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १ गते नै यो गठबन्धन फागुन १० सम्ममा ढल्ने उद्घोष गरेर क्वात्रा मिसनको संकेत भने गरिदिए।

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरको नेपाल भ्रमणको शुरुवात गर्ने दिन पनि फागुन १ गते नै परेको छ। उनी सोमबार काठमाडौं ओर्लिएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.