गैरकम्युनिष्ट सरकार बनाउने चलखेल

रवि र लिङदेनसँग आरजूको छुट्टाछुट्टै छलफल

डिसी नेपाल
९ फागुन २०७९ १२:४४
1.1k
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न प्रयासरत नेपाली कांग्रेसले गैर कम्युनिष्ट सरकार बनाउन पहल थालेको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल बनेर पनि राज्यसत्ताबाट बाहिरिन पुगेको कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा माओवादीको सहयोगमा आफ्नो उम्मेदवारलाई जिताउने बताउँदै आएको छ।

तर एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरे पछि माओवादीले कांग्रेसलाई भेट दिनेमा शंका उत्पन्न भएका बेला कांग्रेस नेतृ आरजू देउवाले गैरकम्युनिष्ट सरकार गठनका लागि पहल थालेकी हुन्।

आरजूले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।

जाउवाखेलस्थित एक जनता आफन्तको घरमा आरजूले रवि र लिङदेनसँग गैरकम्युनिष्ट सरकार बनाउने विषयमा एक एक घण्टा छुट्टाछुट्टै छलफल गरेकी हुन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रवि त्यहीँबाट आरजूसँग भेट जाउलाखेल पुगेका थिए। त्यहाँ उनीहरुबीच गैरकम्युनिष्ट सरकार बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

रविलाई भेटे लगत्तै लिङ्देन आरजूलाई भेट्न जाउलाखेल पुगेका थिए। उनीहरुबीच पनि गैरकम्युनिष्ट सरकार गठनका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

आरजूले गैरकम्युनिष्ट सरकार बनाउने विषयमा रवि र लिङ्देनसँग प्रस्ताव राखे पनि उनीहरुले स्पष्ट जवाफ नदिएको स्रोतको दाबी छ।

यसरी बन्न सक्छ गैरकम्युनिष्ट सरकार

निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसँग ८९ सिट छ भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग १९, राप्रपासँग १४, जसपासँग १२, जनमतसँग ६, लोसपासँग ४ सिट छ। यसैगरी नागरिक उन्मुक्ति पार्टीसँग ४ सिट छ। यी सबै सिट संख्या बहुमतका लागि प्रयाप्त हुन्छ।

तर अहिले कांग्रेस, रास्वपा, जसपा र लोसपा बाहेकका दल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन्। रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएपछि गृहमन्त्रालय नपाएको झोंकमा उ सरकार बाहिर छ।

यद्यपि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। राप्रपा सरकारमा सहभागी छ भने जनमत पार्टी पनि सरकारमा सहभागी छ। जसपा केन्द्र सरकारमा नभएपनि यही गठबन्धनमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी भएको छ।

अहिले तत्काल गैरकम्युनिष्ट सरकार बन्ने संभावना नभए पनि संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएका कारण गैर कम्युनिष्ट सरकार बनाउन सकिनेमा कांग्रेस विश्वस्त देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.