राष्ट्रपति निर्वाचनको सरगर्मी बढ्यो, नेताहरु तारन्तार भेटघाटमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ। राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई भने तीव्र बनाएका छन्।
सभापति देउवाले प्रधानमन्त्री दाहाललाई भेट्नुुअघि आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए।
राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन्।
राष्ट्रपतिको निर्वाचनलाई लिएर आजै प्रधानमन्त्री र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो। कांग्रेस सभापति देउवाले आजै लोसपा, जसपा र समाजवादीका नेताहरूसँग भेट गरेका थिए।
गठबन्धन जोगाउने र भत्काउने गरी दलहरुबीच राष्ट्रपतिको उम्मेदवारको छनोट गर्ने प्रयास भइरहँदा पछिल्लो समय शीर्ष नेताहरुले राष्ट्रपतिको आडमा अरु फाइदा लिने प्रयास गरिरहेको समेत संकेत देखिएको छ।
माओवादी अध्यक्ष प्रचण्डले ‘परिस्थिति फेरिएको’ भन्दै पुस १० को सहमतिमा कायम नरहने र राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई भोट हाल्न सक्ने संकेत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नै तयारी गरिरहेका छन्।
पछिल्लो समय एमाले अध्यक्ष ओलीले राष्ट्रपति कांग्रेसलाई दिनुभन्दा बरु एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेपछि राजनीतिमा तरंग छाएको छ।
राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ।







डिसी नेपाल








Facebook Comment