पुरानै गठबन्धन ब्युँताउने तयारी
काठमाडौं। गठबन्धन जोगाउने र भत्काउने गरी दलहरुबीच राष्ट्रपतिको उम्मेदवारको छनोट गर्ने प्रयास भइरहँदा पछिल्लो समय चुनाव अघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतिने सम्भावना बढेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठकले पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको कांग्रेस नेताहरुले बताएका छन्।
यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तीनैजान सकारात्मक भएका छन्।
राष्ट्रपतिको निर्वाचनलाई लिएर आजै प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो। भेटमा माओवादी अध्यक्ष प्रचण्डले ‘परिस्थिति फेरिएको’ भन्दै पुस १० को सहमतिमा कायम नरहने र राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई भोट हाल्न सक्ने संकेत गरेका थिए।
काँग्रेस सभापति देउवाले आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसहितका नेताहरु साथै लोसपा रजसपाका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए।
भेटपछि अब विगतको पाँच दलीय गठबन्धन ब्युँताउने निष्कर्षमा पुगेको र राष्ट्रपतिको निर्वाचनमा त्यही गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी दिने समझदारी बनेको छ कांग्रेसका एक प्रभावशाली नेताले डिसी नेपाललाई जानकारी दिए।
भोलि दिनभर छलफलपछि बेलुकासम्म सबै विषयमा टुंगो लाग्ने उनले बताए। छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित अन्य नेताहरू सहभागी थिए।
मंसिर ४ को चुनावअघि पाँचदलीय गठबन्धन थियो भने चुनावलगतै प्रधानमन्त्रीमा सहमति नहुँदा त्यो गठबन्धन भत्किएर माओवादी र एमालेसहितको वर्तमान गठबन्धन बनेको थियो। अहिले यो गठबन्धन भत्किएर पुरानै पाँचदलीय गठबन्धन फेरि ब्युँतिने सम्भावना बढेको हो।
यता माओवादीले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई भोट हाल्न सक्ने संकेत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नै तयारी गरिरहेका छन्।
पछिल्लो समय एमाले अध्यक्ष ओलीले राष्ट्रपति कांग्रेसलाई दिनुभन्दा बरु एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेपछि राजनीतिमा तरंग छाएको छ।
राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ।







डिसी नेपाल








Facebook Comment