नेपालका एल्भिसको निधन

कपिल लोहनी 
१३ फागुन २०७९ ८:४१
300
Shares

अगस्त १६, १९७७ का दिन प्रख्यात अमेरिकी गायक तथा सिने अभिनेता एल्भिस आरोन प्रेस्लीको ४२ वर्षको अल्पायुमा दुःखद् निधन हुँदा अमेरिका मात्र नभई पुरै विश्वका संगीतप्रेमीहरू ज्यादै निराश र भावविह्वल भएर रोएका थिए।

रक एण्ड रोलका बादशाह भनेर चिनिने एल्भिस सरहका गायक अझसम्म पनि यो रक विधामा निस्कन सकेका छैनन् र आज पनि उनका गीतका प्रशंसकहरूको संख्या कम भएको छैन।

उनकी एक मात्र छोरी लिजा मेरी प्रेस्लीको पनि गत जनवरी १२, २०२३ मा ५४ वर्षको उमेरमा निधन भयो। गायन क्षेत्रमा निक्कै नाम कमाएकी लिजा आफ्ना अति ख्याती प्राप्त पिता एल्भिस र अभिनेत्री माता पे्रस्सिलाकी एक मात्र सन्तान र सम्पूर्ण सम्पत्तिकी हकदार थिइन्।

सन् १९३५ को जनवरी ८ मा जन्मिएका एल्भिस प्रेस्लीका विश्वभरका प्रशंसकमध्ये कतिले उनले जस्तै पाराले रक गीत गाउन सक्थे होलान् र प्रसिद्धी पनि कमाएका होलान्।

हाम्रै नेपालमा पनि एक जना माइक खड्काले एल्भिस प्रेस्लीका गीतहरू हुबहु गाएर र एल्भिसकै जसरी मन भित्रदेखि भाव प्रकट गरेर उनैका गीतहरू गाउन सक्थे। माइकका गीत सुनेर उनका प्रशंसक हुन पुगेका धेरै संगीतप्रेमीमध्ये यो पंक्तिकार पनि पर्दथ्यो।

स्वर र भाव मात्र नभई बाहिरी हाउभाव प्रकट गर्न र एल्भिसकै जस्तो पहिरनको प्रयोग गर्न पनि माइक निक्कै माहिर थिए। भन्नै पर्दा माइक नेपालका प्रथम रक एण्ड रोल गायक हुन्।

सन् १९५५ को जनवरी १४ मा ललितपुर जिल्लाको झम्सिखेलमा जन्मिएका मुकुन्दकुमार खड्काले जावलाखेलस्थित सेन्ट जेभियर्स स्कूलबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए।

उनी अङ्ग्रेजीमा मात्र पारङ्गत नभई उनको विभिन्न विषयमा अध्ययन गर्ने बानीले गर्दा उनी धेरै विधाका ज्ञाता थिए। साथै विश्वको विभिन्न समयका घटनाक्रमसँग उनी परिचित पनि थिए।

नेपालका एल्भिस भनेर चिनिने माइक खड्काको पनि गत फेब्रुअरी २३ तारिखका दिन निधन भयो। एल्भिस प्रेस्ली भन्दा ठीक २० वर्ष ६ दिन कान्छा मुकुन्दले सुविख्यात माइक बन्नको निम्ति सानै उमेरदेखि पाश्चात्य संगीतको गहिरो अध्ययन र साधना गर्नु परेको थियो।

त्यो यस्तो वखत थियो, जुन बेला नेपालमा पाश्चात्य संगीतबारेका पुस्तक, पत्रपत्रिका र टेपहरू विरलै पाइन्थे र विश्वले आज जस्तो विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै विकास पनि गरेको थिएन। यसो हुनाले मानिसहरूमा आजजस्तो सूचनाको सहज पहुँच थिएन।

भण्डै ३१ वर्षसम्म प्रथम र द्वितिय विश्व युद्धबाट थकित भएको विश्वले सन् १९४५ पश्चात शान्तिको बाटो पक्रेपछि पश्चिमा संगीतले पनि एउटा नयाँ संस्करणको साथ अघि बढ्न शुरु गरेको थियो।

त्यसको १० वर्षपछि हिमालयको काखमा रहेको मुलुक नेपालमा जन्म लिएका मुकुन्दले सानैदेखि अङ्ग्रेजी पाठ्यक्रममा अध्ययन गर्ने मौका पाउनुका साथै विदेशी शिक्षकहरूको संगत पाएकोले होला उनमा पाश्चात्य संगीतको लगाव बढ्दै गएको।

त्यसमाथि विद्यालयका अन्य साथीहरू पनि त्यस्तै परिवेश बोकेका सम्भ्रान्त घरहरूबाट त्यहाँ अध्ययनको निम्ति आएका। तर पनि प्रतिभा भन्ने कुरा सिकाईका साथै जन्मजात पनि प्राप्त हुने भएकाले यो गुण सबैमा भने हुँदैन।

१९५० र ६०को दशकमा विश्वमा ज्याज र पश्चिमा शास्त्रीय संगीतले अझ धेरै परिस्कृत हुने मौका पाए भने कन्ट्री र पप म्युजिक अनि रक एण्ड रोलले पनि अमेरिका र युरोपमा हुर्कने मौका पाए।

रक एण्ड रोलका शुरुका प्रवद्र्धकमा चक बेरी र लेडी कोनी फ्रान्सिसको नाम अग्रस्थानमा आउँछ भने ब्लुजका ज्ञाता रे चाल्र्सको पनि ठूलो योगदान रहेको छ। इलेक्ट्रिक गिटारको प्रयोग ह्वात्तै बढेको पनि त्यही समयदेखि हो।

सन् ५० को दशकमा रक एण्ड रोल संगीतका धेरै एल्बमहरू बजारमा आएका भएता पनि ती मध्ये एल्भिस प्रेस्ली नै सबैभन्दा लोकप्रिय हुन सफल भए। एल्भिसले नै गिटारलाई प्रमुख वाद्यको रूपमा विकास गरेर चार-पाँच सदस्यीय बैण्डको अवधारणालाई लोकप्रिय बनाए भने कन्ट्री संगीतमा ब्लुज र तालको सम्मिश्रण गरेर ‘रकेविलिटी’ भन्ने एक भिन्दै विधाको निर्माण गरेर रक एण्ड रोललाई परिमार्जन गरे।

४० को दशकदेखिनै लोकप्रिय फ्राङ्क सिनात्रा पनि त्यतिबेलाको सांगीतिक धरातलमा अग्रस्थानमा नै थिए भने रिकी नेल्सन, पल एङ्का, बबी डेरिन आदि रक एण्ड रोलका नयाँ नायक भएर छाउँदै थिए।

सन् ५० को अन्तदेखि ६०को दशकभर बेलायतको लिभरपुलबाट बिटल्स्को उदय भएर विश्व विख्यात ब्याण्ड हुन पुग्यो भने लण्डनमा रोलिङ स्टोन्सको लोकप्रियता बढ्न थाल्यो। त्यस्तै एरिक क्ल्याप्टन, यार्ड बर्डस्, लिड जेप्लिन, फ्लिटवुड म्याक, बब डिलान, टम जोन्स, साइमन एण्ड गार्फङ्कल, द डोर्स, जिमी हेन्ड्रिक्स, द बीच ब्वाइज, जोह्नी क्यास जस्ता गायक र ब्याण्ड पनि सांगीतिक क्षेत्रमा छाउन थाले।

सन् ७० को दशकमा भने रक, कन्ट्री, पप, ज्याजका साथै डिस्को संगीतको पनि शुरुवात भयो। त्यस्तै रकमा पनि पङ्क रक, हार्ड रक, हेभी मेटल, ग्ल्याम रक, सफ्ट रक आदि विभिन्न विधा शुरु भए। रेगी र हिपहप पनि यही समयतिर लोकप्रिय भएका हुन्।

भ्यान हेलेन, टेड नजेन्ट, डिप पर्पल, क्वीन, स्कर्पियन्स, डेविड बोवी, एसीडीसी, इगल्स, किस, द डोर्स, कार्पेन्टर्स, फ्रेडी किङ, अब्बा, विङ्ग्स, बब मार्ली, स्टीभी वन्डर, लायोनेल रिची, बिजिज् र गिब् दाजुभाई, द ज्याक्सन फाइब र माइकल ज्याक्सन, नील यङ्ग, केन्नी रोजर्स, नील डायमण्ड, एल्टन जोन, एरिक क्ल्याप्टन, रड स्टेवार्ड, बार्बरा स्ट्रेइसेण्ड, लिण्डा रोन्स्टेड, डायना रस, टिना टर्नर, डोना सम्मर, ओलिभिया न्युटन जोन, डली पार्टन, जोन डेन्भर, बिल्ली जोएल आदि धेरै कलाकार र ब्याण्डले सफलता पाएको समय पनि यही नै हो।

यसरी खासगरी सन् ५० देखि ७० सम्मका पश्चिमा ज्याज, रक एण्ड रोल, ब्लुज, पप संगीतबाट निक्कै प्रभावित भएर र त्यसमा पनि एल्भिस प्रेस्ली र टम जोन्सका गीत, हाउभाउ र पहिरन समेतलाई विशेष रूपले मन पराउने भएर माइक खड्काले अङ्ग्रेजी गीतहरू गाउन थालेका हुन्।

आफैं अङ्ग्रेजी भाषाका ज्ञाता हुनुका साथै पश्चिमा साहित्यका पारखी समेत भएकाले गीतमा भन्न खोजेका कुरा माइकले राम्रैसँग बुझ्दथे, र त त्यस्ता गीत गाउँदा उनी खुबै फिलिङ (भाव)का साथ गाउन सक्दथे।

एकचोटी नेपाली गीत-संगीतका शिखर पुरुष अम्बर गुरुङसँगको कुराकानीमा उहाँले ‘नेपालमा ज्यादै कम मानिस मात्र यस्ता छन् जसले गीतको भावलाई बुझेर गाएका हुन्छन्।

झनै विदेशी गीतहरू त धुन मन परेको भरमा नै गाउने गर्दछन्।’ भन्नु भएको थियो। न्याट किङ कोल, लुइस एम्स्ट्रङ, फ्राङ्क सिनात्रा, एल्भिस आदिलाई खुबै रुचाउने अम्बर गुरुङले एक पटक माइक खड्का नेपालका ज्यादै थोरै मानिसहरूमध्ये अङ्ग्रेजी गीत सही तरिकाले गाउने व्यक्ति हुन् पनि भन्नु भएको थियो।

माइकको तन र मनभित्रदेखि स्वर निकालेर गाउने शैली, गीतको भाव मुताविकको अभिनय गरेर गाउने खुबी र उनको परिपक्वताको अम्बर गुरुङ कदर गर्नु हुन्थ्यो। माइकसँगै कुरा गर्दा पनि उनमा अम्बर प्रति विशेष आदरभाव थियो।

माइक खड्का अङ्ग्रेजी मात्र होइन, नेपाली र हिन्दी तथा उदू गीत पनि उत्तिकै मन पराउँदथे। उनले कुनै समयमा ख्यातीप्राप्त शास्त्रीय गायक रङ्गराव कादम्बरीसँग पनि शास्त्रीय संगीत सिकेका रहेछन्।

दीप श्रेष्ठ, ओमविक्र विष्ट, किशोर गुरूङ, राजु गुरुङ, अरुण थापा, दिपक खरेल, मधु क्षेत्री, दिव्य खालिङ, हरिश चन्द, रघु शाह, नीर शाह, पेम्बा लेप्चा, सुवर्ण लिम्बु, देव राना, डम्बर राई आदि उनका समवयी मित्रहरू नै थिए भने आफूभन्दा जेठा चेतन कार्की, यादव खरेल, रत्नशमशेर थापा आदिसँग गफिन पनि उनी निक्कै रुचाउँथे।

आफ्ना भाइ उमेरका ज्योति घिमिरे, प्रकाश सायमी, शरद प्रधान, यो पंक्तिकार आदिसँग पनि बेला बेलामा लामो भेटघाट गरिरहन्थे। सारांशमा उनी सबै उमेर समूहका विचार मिल्ने मानिसहरूसँग संगत गर्न रुचाउँथे।

भम्सिखेलको सेन्टमेरिज स्कूल निर उनको भेस्पर क्याफे र वाइनको बिक्री कक्ष अझ पनि छँदैछ। हालको उनको अवकाशप्राप्त समयमा उनलाई भेट्न सोही क्षेत्रमा जाँदा सहज हुने गरेको थियो। हामीले भेट्न खोज्दा उनी हामीलाई कुनै क्याफे वा पुस्तक पसलमा बोलाउने गर्दथे र निक्कै भद्र व्यवहारका साथ बोल्ने गर्दथे।

केही महिनाअघि मित्र प्रकाश सायमी र शरद प्रधानका साथ उनलाई भम्सिखेलको एउटा क्याफेमा भेट्दा छिट्टै यस पंक्तिकारको म्युजिक प्राक्टिस स्टुडियोमा केही दिन अभ्यास गरेर एउटा रमाइलो कार्यक्रमको आयोजना गर्नु पर्छ भनेर सल्लाह गरेका माइक केही समय पछि ढाडको दुखाइले गर्दा बी एण्ड बी अस्पतालमा शल्यक्रियाको निम्ति भर्ना भएपछि पो उनलाई हड्डीको क्यान्सर भएको र त्यो पनि अलिक धेरै बल्झिसकेको कुरा थाहा हुन पुगेछ।

हतार हतार भारतको नयाँ दिल्लीस्थित मणिपाल अस्पतालमा पुर्‍याएर औषधोपचार गर्दा पनि केही सिप नलागेपछि उनलाई केही दिन अघि परिवारजनले काठमाडौँ ल्याएका थिए। पछिल्लो समय उनी निक्कै कमजोर र दुब्ला भएका थिए तर उनको जोश र जाँगरमा भने कुनै कमी आएको थिएन।

यो पंक्तिकारसँग पनि फोनमा कुरा भइरहन्थ्यो र एकचोटी उनले आफूले आजकल क्यान्सर रोगले धेरैलाई सताएको कुरा गर्दा गर्दै यो रोग त आफ्नो शरीरमा पनि पसिसकेको रहेछ भनेर ठट्टाको भावमा भनेका थिए।

केही दिन अघिसम्म यसै गरी फोनमा कुरा हुँदा छिटै भेट्नु पर्छ भनेका आदरणीय व्यक्तिको निधन भयो भनेर सुन्दा त विश्वास गर्न समेत एकछिन ज्यादै गाह्रो परेको थियो।

करिव ४० वर्ष पहिले उनीसँग पहिलो चोटी भेट हुँदा उनी नेपाल बैंक लिमिटेडको नयाँसडक शाखामा व्यवस्थापकीय पदमा नै कार्यरत थिए।

हामी ज्योती घिमिरे, शैलेन्द्र श्रेष्ठ, सुचन्द्र सिलालिक (च्वँचा), माइक खड्का र यो पंक्तिकारले त्यतिबेला केही समय अघि बन्द भएको ब्याण्ड काठमाण्डु क्याट्स्लाई ब्युँताएर नयाँ रूप दिएका थियौँ र लामो अवधिसम्म दिनहुँ सांगीतिक अभ्यास गरेर केही कार्यक्रमको आयोजना समेत गरेका थियौँ। अब त सो ब्याण्डका त्यतिबेलाका सदस्यहरूमा ज्योति घिमिरे र यो पंक्तिकार मात्र यस धरतीमा बाँकी भएका छौँ।

यो भन्दा पहिले माइक खड्काले रेडियम र फ्रिडम ब्याण्डसँग आवद्ध भएर पनि गीत गाएका थिए। त्यतिबेला निरञ्जन मुनी बज्राचार्य, भानु टण्डुकार र अन्य सदस्यहरू भएको यो एक सशक्त ब्याण्ड थियो। नेपालको ख्याती प्राप्त ब्याण्ड प्रिज्मसँग पनि माइकको लामो संलग्नता थियो।

उनले पेम्बा लेप्चा, डम्बर राई, सुवर्ण लिम्बु, महेन्द्र लामा, देव राना, जर्ज सुब्बा, दिनेश राई आदिसँग पनि गीत गाएका थिए। त्यस्तै ब्रदरहुड ब्याण्डका किशोर, राजु र शरद गुरुङ तथा मानसिंह गुरुङ तथा डम्बर सुब्बा आदि जस्ता हस्तीहरूसँग पनि सांगीतिक प्रस्तुतिहरू गरेका थिए।

नेपालको पप र रक संस्कृतिका पहिलो पुस्तादेखि आजका नविनतम् पुस्तासम्म नै माइक खड्का एक अति नै ख्याती प्राप्त कलाकार र संगीतज्ञका रूपमा प्रख्यात थिए। निक्कै लामो अवधिसम्म एफ.एम. रेडियोका प्रस्तोता रहेका माइक रेडियोका श्रोता माझ पनि एक ज्यादै नै चिर परिचित र प्रिय नाम हो। क्लासिक एफ.एम.मा उनी लामो समयसम्म प्रस्तोता र निर्देशक भएर आवद्ध भएका थिए।

माइक खड्काको निधन सम्बन्धि समाचार गोरखापत्र बाहेक अन्य प्रमुख राष्ट्रिय दैनिकहरूले नछापेको देख्दा उनीहरूको पत्रकारितामा कति स्वार्थ लुकेको छ भन्ने कुरा प्रष्ट हुन्छ। तर पनि धेरै अनलाइन पत्रपत्रिका र एफएमहरूले भने प्रमुखताका साथ उनको निधनको समाचार सम्प्रेशण गरेका थिए।

पशुपति आर्यघाटमा परिवारका सदस्य बााहेक उनका निकटतम साथीहरू र विभिन्न पुराना सांगीतिक ब्याण्डका हस्तीहरूको उपस्थिति हुनु निक्कै सकारात्मक कुरा हुन गयो।

साथी प्रकाश सायमीले उनको निधनको समाचार र अन्तिम संस्कारका केही दृश्य फेसबुक लाइभमार्फत प्रसार गरेपछि पनि धेरै हितैषी र आफन्तहरूले विलापका साथ आफ्ना श्रद्धा प्रकट गरेका थिए।

नेपालका एल्भिस प्रेस्ली भनेर संगीत जगतमा ख्याती कमाएका माइक खड्कालाई गुमाउनु परेकोमा निक्कै दुख लागेको छ। उनले सिकाएका व्यावहारिक कुराहरूलाई अवलम्बन गरेर संगीतको क्षेत्रमा लागीरहन प्रोत्साहन मिलिरहोस् भन्दै उनकी धर्मपत्नी र सुपुत्रलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना छ।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.