फागुन १ मै सरकारबाट बाहिरिन चाहन्थ्यो राप्रपा

डिसी नेपाल
१४ फागुन २०७९ ११:२६
580
Shares

काठमाडौं। जनयुद्ध दिवसका दिन सार्वजनिक दिने प्रधानमन्त्रीको ‘जबर्जस्ती’ निर्णय र व्यवासायी दुर्गा प्रसाईंले फागुन १ मा मेची पुलबाट सुरु गरेको ‘नागरिक बचाउने महाअभियान’ पछि नै राप्रपा सरकारबाट हट्न चाहन्थ्यो।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको एजेण्डा लिएर वैकल्पिक राजनीति गर्दै आएको राप्रपाका लागि यी दुई घटना सामान्य थिएनन्।

अझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टिकरण सोध्ने भन्दै राष्ट्रिय सभामा उभिएर दिएको अभिव्यक्तिपछि राप्रपाले सरकारमा सहभागिताको औचित्य पुष्टि गर्न सकेको थिएन।

पुस २७ मा पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गराएको जस राप्रपाले लिन खोजे पनि त्यसको मुख्य भागिदार एमाले थियो।
न्युनतम साझा कार्यक्रममा सहमति जनाएर माघ तीनमा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको राप्रपा सरकारबाट बाहिरिन सेफ ल्याण्डिङको खोजीमा थियो।

सरकार गठन हुँदा कायम भएको गठबन्धन छोडेर प्रधानमन्त्रीले पुरानै गठबन्धन ब्युँताएपछि राप्रपाले त्यसलाई अवसरको रुपमा सदुपयोग गर्दै सरकारबाट बाहिरिएको एक नेताले बताए।

‘हामीले सरकारमा सहभागीताको औचित्य पुष्टि गर्न सकेका थिएनौं,’ ती नेताले भने, ‘आफूले समर्थन गरेको र सहभागीता नै जनाएको सरकारबाट विना कारण बाहिरिन मिल्ने अवस्थामा हामी थिएनौं। तर शुक्रबारको घटनापछि हामीलाई सरकारबाट बाहिरिन सहज वातावरण बन्यो।’

पछिल्लो समय पूर्व राजासँग राप्रपाको सम्बन्ध चिसिँदै गएको थियो। सरकारमा सहभागी हुने बेलामा अध्यक्ष राजेन्द्र लिङ्देनसँग महामन्त्री धवलसमशेर राणालगायतका नेताले पूर्व राजासँग भेटेका थिए।

उक्त भेटमा आफूहरु सरकारमा सहभागी हुन लागेको र अब मन्त्रीका रुपमा भेट्न आउने भनेपछि पूर्व राजाले ‘सरकारमा सहभागी हुने बेला भयो?’ भन्दै घुमाउरो शैलीमा सरकारमा नजान भनेका थिए। स्रोतका अनुसार पूर्व राजाले राप्रपाले उठाउँदै आएको एजेण्डालाई कार्यान्वयन गर्न पनि सरकारमा सहभागी हुन नहुने सुझाव दिएका थिए।

तर पूर्व राजाको उक्त सुझावलाई ख्याल नगरी राप्रपा सरकारमा सहभागी भएको थियो। सरकारमा सहभागी भएर पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गर्दासम्म राप्रपा र पूर्व राजाबीचको सम्बन्ध ठिकै भए पनि फागुन १ गते जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि राप्रपा अप्ठेरोमा परेको थियो। यद्यपि सार्वजनिक विदा दिन बसेको मन्त्रिपरिषदको बैठक राप्रपाका मन्त्रीले बहिष्कार गरेका थिए।

राप्रपासँगको सम्बन्धमा सुधार नआइरहेका बेला व्यावसायी दुर्गा प्रसाईंले मेची पुलबाट सुरु गरेको ‘नागरिक बनाउने महाअभियान’ मा पूर्व राजा परिवारसहित सहभागी भएपछि राप्रपा झन अप्ठेरोमा परेको थियो।

प्रसाईंको महाभियानमा पूर्व राजा सहभागी भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईं विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएका थिए।
प्रसाईंको महाभियानलाई पूर्व राजाको साथ र सहयोग हुन तर राप्रपासँगको सम्बन्ध चिसिनुका कारण राप्रपा सरकारबाट सहज अवतरणको खोजीमा थियो।

पुरानै गठबन्धन ब्युँताउने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई राप्रपाले सदुपयोग गर्दै सरकारबाट बाहिरिएको छ। तर उनले पूर्व राजासँगको सम्बन्धमा सुधार ल्याउन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.