उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद
काठमाडौं। निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ।
खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य समुदायबाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।
उक्त निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद देखिएको हो। आयोगको निर्णयपछि नौ दलीय गठबन्धनको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठक बस्यो।
बैठकपछि बाहिरिने क्रममा कार्यदल संयोजक तथा कांग्रेस उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको संविधानको व्यवस्थाविपरीत रहेको प्रतिक्रिया दिए।
सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताएका हुन्।
संविधानविपरीत आयोगले निर्णय गरेको भन्दै उनले भने, ‘फरक लिंग वा फरक समुदाय भन्नाले अनिवार्य उपराष्ट्रपति महिला हुनुपर्छ। अथवा राष्ट्रपति र उपराष्ट्रपति महिला–पुरुष हुनुपर्छ भन्ने व्यवस्था संविधानमा गरिएको छैन।’
तर, आयोगको निर्णय संविधानसम्मत रहेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए। सोही कार्यदलको बैठकबाट बाहिरिने क्रममा उनले आयोगले जारी गरेको वक्तव्य संविधानभन्दा बाहिर नरहेको बताए। संविधान र कानुनको मर्म र भावनाअनुसार नै उपराष्ट्रपति चयन गर्नुपर्ने उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment