चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा लेखन र निर्देशन कार्यशाला गर्ने
काठमाडौँ। चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने बिशेष कार्यशाला आयोजना गर्ने भएको छ।
विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो।
बोर्डको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागि हुन कुनै शुल्क लाग्नेछैन। चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०:३० बजेदेखि दिउसो ३:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ। अथवा, ९८४१२९२४७१ नम्बरमा टेलिफोनमार्फत पनि आफ्नो नाम टिपाउन सकिनेछ।
को हुन् अनुपम बर्वे ?
अनुपम बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन्। उनि पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए। उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्।
उनि हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन्। उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखालाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन्। उनले कामुकता र आत्म-प्रभावकारिता वरपरका कथाहरूमा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन्।
उनले निर्देशन गरेका फिल्महरुले लण्डन एशियन फिल्म फेस्टिभल, न्यूयोर्क इन्डियन फिल्म फेस्टिभल र लुम्स फिल्म फेस्टिभल, लाहोर जस्ता विश्वभरका फिल्म फेस्टिभल र प्रतियोगिताहरूमा प्रशंसा पाएका छन्। उनको फिल्म ‘फ्रेस सुसाइड’ ले गोवाको आएएफएफआईमा गोल्डेन पाम ट्री अवार्डको लागि मनोनयनमा परेको थियो र अन्य केहि फेस्टिभलहरुमा विभिन्न पुरस्कार जितेको छ। फिल्म ‘सो ह्वाट’बाट उनले स्मिता पाटिल फिल्म फेस्टिभल, पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन्।
साथै, अमिताभ घोषको उपन्यासको रूपान्तरण गरि उनले बनाएको फिचर फिल्म ‘द स्याडो लाइन्स’ ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिभल र इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा आयोजित एनएफडीसीको पटकथा लेखकहरूको प्रयोगशालामा छनौटमा परेको थियो।







डिसी नेपाल







Facebook Comment