सत्ता गठबन्धनको बैठक जारी, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी

डिसी नेपाल
२१ चैत २०७९ १८:४४
160
Shares

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

जारी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने गरि छलफल भइरहेको छ।

अघिल्लो पटक बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्युनतम साझा कार्यक्रम वितरण गरेको र त्यसमा केही संशोधन गर्नुपर्ने भए सुझाव दिन आग्रह गरेका थिए।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ।

प्रधानमन्त्रीले पेश गरेको सरकरको न्यूनतम साझा कार्यक्रमको पहिलो बुँदामा संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन-विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने कुरा उल्लेख छ।

यसैगरी शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने, कुनै पनि नेपाल नागरिक नागरिकता प्रमाणपत्र पाउन र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने उल्लेख छ।

तत्कालीन सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता तथा तराई९मधेस लगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीबीच भएका सहमति र सम्झौतालाई तदारुपताका साथ कार्यान्वयन गर्ने उल्लेख छ।

संसदमा विचाराधीन वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशीघ्र पारित गरि आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत-साधन र जनशक्ति उपलब्ध गराउने, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने, द्वन्द्वपीडितलाई क्षतिपूर्ति, पुनस्थापना र परिपूरणको व्यवस्था गर्ने उल्लेख छ।

न्यूनतम साझा कार्यक्रममा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ती सहज बनाउने, महंगी, तस्करी, कृतिम अभाव, कालाबजारी, खाद्य बस्तुहरुमा मिसावट र वस्तु तथा सेवामा हुने सिण्डिकेट प्रणाली अन्त्य गर्ने बुँदा समेटिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.