कोशी प्रदेश नामकरण विरोधी आन्दोलनको पक्षमा माओवादी केन्द्र
काठमाडौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै भइरहेको आन्दोलनको पक्षमा रहेको जनाएको छ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले कोशी नामाङ्करण गरिएको बिषयमा भइरहेको आन्दोलनको बिषयमा धारणा तय गर्दै पार्टी पहिचानकै आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने पक्षमा रहेको निर्णय गरेको हो।
बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले प्रदेशको नाम पहिचानका आधारमा राख्नका लागि माओवादीबाट कमजोरी भएको र पार्टी पहिचानकै पक्षमा रहेको स्पष्ट पारे।
उनले प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाई रहेपनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामाङ्करणको पक्षमा रहेको बताए।
बैठकले प्रदेश नामाङ्करणका बिषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसंग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए।
त्यस्तै बैठकले मिटरव्याजीे पीडितहरुको पक्षमा माओवादी रहेकोले सरकारले छानविन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए।
त्यस्तै प्रवक्ता महराले बिहीबारसम्ममा सरकारले पूर्णता पाउने जानकारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएको बताए।







डिसी नेपाल







Facebook Comment