अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्ः रवि लामिछाने

डिसी नेपाल
२५ चैत २०७९ १९:२०
152
Shares

दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे।

“हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ, अरु दललाई पनि हामी यही आह्वान गर्छौँ”, उनले भने, “कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन । सबैलाई यही आह्वान गर्छौँ।”

लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेले बताए। “यो नै लोकतन्त्रको विशेषता हो, देशका मालिक जनता हुन्”, उनले भने।

तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि यसपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरे। “सबै दलप्रति हाम्रो सद्भाव छ, अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौँ”, उनले भने।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताए। उनले राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै वाग्लेले राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

डा वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको बताउँदै अरुलाई गाली नगर्ने बताए। “अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु”, उनले भने।

वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरु गरिने बताउँदै अन्य ठाउँले पनि यहाँबाट सिक्ने अवसर पाउने जिकिर गरे। “खानेपानी र बाटो बनाउनेमात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्”, वाग्लेले भने।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले तनहुँ–१ ले गर्व गर्न लायक उम्मेदवार पाएको बताए। सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सुशासन र आर्थिक समृद्धि आफ्नो पार्टीको प्रमुख कार्यभार रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.