नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र उपराष्ट्रपतिको बधाई

डिसी नेपाल
१९ वैशाख २०८० १८:५५
84
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका छन् ।

उनले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज सम्पन्न एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाली टोलीले युनाइटेड अरब इमिरेट्सलाई हराएको हो ।

राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले नेपाल र नेपालीको नाम राख्ने विश्वासका साथ आगामी प्रतियोगिताको लागि पनि शुभकामना व्यक्त गरेका छन् ।

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन् । उनले आगामी दिनमा हुने एसिया कपको सफलताका लागि पनि क्रिकेट टोलीलाई शुभकामनासमेत दिएका छन् ।

उपराष्ट्रपतिले प्रशिक्षक, अफिसियल तथा खेलाडीको लगनशीलता, मेहनत र कडा परिश्रमका कारण नेपाली क्रिकेट टिमले एसिया कपमा छनोट भई ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.