मछिन्द्रले संकटालाई हरायो, एपीएफ र एनआरटीले अंक बाँडे

डिसी नेपाल
२१ वैशाख २०८० १७:५४
204
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो ।

खेलको ७८ औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औं मिनेटमा विमल घर्ति मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ५७ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.