नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्छः महरा
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने धारणा राखेका छन् ।
शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
महराले भने,“नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धन भित्र र बाहिर जोसुकैलाई पनि कारवाही हुन्छ ।”
महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत हरेको बताएका छन् । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएपनि स्पष्ट बहुमत पुग्ने बताए ।
“राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छैन । निर्णय गरेपछि औपचारिक रुपमा जानकारी गराउँछ होला नै । सरकारसँग स्पष्ट बहुमत छ । रास्वापाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन” महराले भने ।
रविले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको तर सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिएको महराले बताए ।माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरुप अघि बढिरहेको बताए ।
उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए । इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यापुस्तक विद्यालयमा पु¥याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको बताए ।
माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको महराले जानकारी दिए । विभिन्न चरणमा छलफल भइरहेको बताउँदै महराले अगाडि भने, “हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ । मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ ।”







डिसी नेपाल








Facebook Comment