मनाङमा सडकको ट्र्याक खोलिदै

डिसी नेपाल
२६ वैशाख २०८० १५:१०
444
Shares

मनाङ। हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।

प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए। सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ।

जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए। विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ।

नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए। ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *