नक्कली शरणार्थी प्रकरण : खुसीसँगै आम जनताको मनमा उब्जिएका डर र आशंका
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पछिल्लो समय पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाणलाई उनकै निवासबाट पक्राउ गरिएको हो।
उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ र त्यहाँबाटै अदालत उपस्थित गराउने तयारी भइरहेको छ। नक्कली शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा यसमा पूर्व गृहमन्त्री खाँणको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खाँण यस प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये सबैभन्दा उच्च तहका नेता हुन्। यही प्रकरणमा संलग्न भएको पाइएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेका पूर्व उपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। खाँण पक्राउ परेपछि दबाबमा परेका उनले आजै गिरफ्तारी दिन सक्ने स्रोतको दावी छ।
यसअघि प्रहरीले यही प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन्।
शीर्ष तहका नेताहरु समेत पक्राउ पर्न थालेपछि यसले आम जनतामा एक प्रकारको खुसीको सञ्चार भएको छ। राजनैतिक पहुँच भएकाहरुलाई सरकारले नै संरक्षण गर्छ भन्ने विश्वास गरिसकेका जनतालाई यस प्रकरणमा उच्च तहका नेताहरु पक्राउ पर्नुले देशमा कानुनको शासन रहेको कुरामा आशा जगाएको छ। तर, अनुसन्धान भर्खरै सुरु भएकोले यसको निरुपण हुँदासम्म विषयले कस्तो मोड लिने हो भन्ने आम जनतामा आशंका छ।
यस प्रकरणमा तानिएका सबैभन्दा उच्च तहका नेता र कर्मचारी भने अहिलेसम्म पक्राउ परेका वा पक्राउ पुर्जी जारी भएकाहरु मात्रै होइनन्। उनीहरु बाहेक अरु पनि धेरै यस प्रकरणमा तानिएका छन्।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्त प्रेमबहादुर राई समेत यस प्रकरणमा तानिएका छन्। तर, उनीहरुसम्म प्रहरी पुगिसकेको छैन।
यो प्रकरणको जरो खोतल्दै जाने हो भने यो कैयौं वर्ष पहिले नै सुरु भएको देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह सचिव रहेका प्रेमबहादुर राईको पालादेखि यो खेल सुरु भएको देखिन्छ।
त्यसपछि अहिलेसम्म यो खेल चल्दै गर्दा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रधानमन्त्री भए। सँगसँगै गृम मन्त्री र मन्त्रालयका सचिव पनि फेरिँदै गए । तर मन्त्रालयभित्र यो खेल चलिरह्यो।
यसरी नक्कली शरणार्थी बनाउने प्रपञ्च गृह मन्त्रालयभित्र चलिरहँदा त्यसमा विभागीय मन्त्री मात्रै संलग्न थिए वा त्यसको लिंक उनीभन्दा माथि प्रधानमन्त्रीसम्म पनि जोडिएको थियो? यदि जोडिएको थियो भने त्यतिबेला देशका सबैभन्दा ठूला ३ पार्टीका अध्यक्षहरु प्रधानमन्त्री थिए।
पछिल्लो समय माओवादीका अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष गृहमन्त्री हुँदा यो प्रकरणको खुलासा भयो। तर, एमाले र कांग्रेसका पार्टी प्रमुख प्रधानमन्त्री हुँदा यो खेल चलिरहेको थियो। यसले यो गिरोहलाई प्रधानमन्त्रीको पनि संरक्षण प्राप्त थियो कि भन्ने आशंका बढाउँछ।
गम्भीर आरोप लागेका यी शीर्ष नेताहरुमध्ये एकजना टोपबहादुर रायमाझी फरार छन्। उनले पनि गिरफ्तारी दिने तयउारी गरिरहेको बताइएको छ। उनलाई पार्टीले नै गिरफ्तारी दिन निर्देशन दिएको समेत पार्टीका उच्च नेताले बताएका छन्।
उनीबाहेक अरु सबै सहजै पक्राउ परेका छन्। यसले उनीहरुमाथि स्वतन्त्र अनुसन्धान गर्नको लागि उनीहरुलाई पक्राउ गर्न लागिएको हो वा अदालतबाट सफाइ दिलाएर चोख्याउन उनीहरुलाई पक्राउ गरिएको हो भन्ने आशंका पनि बढाएको छ।







डिसी नेपाल








Facebook Comment