विश्वकप छनोटको समीकरण पूरा, आयरल्याण्ड छनोट खेल्नुपर्ने, दक्षिण अफ्रिका सिधै विश्वकपमा

डिसी नेपाल
२७ वैशाख २०८० १२:०१
12.0k
Shares

काठमाडौं । आगामी १८ जूनदेखि जिम्बाब्बेमा हुने विश्वकप छनोटको समीकरण पूरा भएको छ । हिजो विश्वकप सुपर लिग अन्तर्गत बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले अवरुद्ध भएर बिना नतिजा टुंगिएसँगै अब आयरल्याण्डले विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।

हिजोको खेल जितेको भए आयरल्याण्ड सिधै विश्वकपमा जाने सम्भावना जीवितै रहने थियो । आयरल्याण्ड र बंगलादेशले अहिले ३ एकदिवसीयको सिरिज खेल्दैछन् जुन खेलहरु विश्वकप सुपर लिग अन्तर्गतका हुन् । आयरल्याण्डले यी तीनवटै खेल राम्रो रनरेटले जितेको अवस्थामा उसले विश्वकप सुपर लिगको अंक तालिकामा दक्षिण अफ्रिकालाई उछिन्दै आठौं स्थानमा पुग्न सक्थ्यो । तर, खेल अवरुद्ध भएपछि त्यो सम्भावना सकिएको छ ।

अब जिम्बाब्बेमा हुने विश्वकप छनोटमा ४ टेस्ट राष्ट्र र नेपालसहित ६ एसोसिएट राष्ट्रले खेल्नेछन् । जसको विजेता र उपविजेता विश्वकपका लागि छनोट हुनेछन् । विश्वकप सुपर लिगको तालिकामा सबैभन्दा पुछारमा रहेका श्रीलंका, वेष्ट इण्डिज, जिम्बाब्बे, आयरल्याण्ड र नेदरल्याण्ड छनोट खेल्नेछन् । यीमध्ये नेदरल्याण्डबाहेक सबै टेस्ट राष्ट्र हुन् ।

यसबाहेक विश्वकप लिग २ का शीर्ष ३ टिमहरु स्कटल्याण्ड, ओमन र नेपालले पनि विश्वकप छनोटमा खेल्नेछन् । लिग २ बाट बाहिरिएका तर पछि विश्व्कप छनोटको प्लेअफ खेलेर विजेता र उपविजेताको रुपमा आएका युएइ र अमेरिकाले पनि विश्वकप छनोट खेल्नेछन् ।

विश्वकप छनोटको समूह विभाजन भइसकेको छैन । १० टिमलाई ५–५ टिमको दुई समूहमा विभाजन गरिनेछ जसमा प्रत्येक समूहमा २ टेस्ट राष्ट्र पर्ने सम्भावना उच्च छ । यसरी नेपालले समूह चरणमा २ टेस्ट राष्ट्रसँग खेल्नुपर्ने हुन सक्छ । त्यसपछि दुवै समूहका शीर्ष ३ टिम सुपर सिक्समा जानेछन् ।

सुपर सिक्सका खेलहरु राउण्ड रोबिन फर्म्याटमा हुनेछन् अर्थात सबै टिमले एक अर्कासँग खेल्नेछन् । राउण्ड रोबिन चरणका खेल सकिएपछि अन्तिममा अंक तालिकाको शीर्षमा पर्ने २ टिम मात्र विश्वकप खेल्न पाउनेछन् । बाँकी सबै टिम बाहिरिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.