जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराएका थिए : महासचिव पोखरेल

डिसी नेपाल
३ जेठ २०८० ८:२४
200
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका छन्।

उनका अनुसार भण्डारीको जबजको पक्षमा शिर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पूर्व नेपालीको बिराटनगरवाट भेला सुरु गरिएको थियो र चितवनमा आइपुगेपछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाएका थिए। तर, पदमकन्या क्याम्पसमा आएपछि माधव नेपाल पुरै खुलेर मात्रै लागेनन्, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको पोखरेलले आज स्मरण गरेका छन्।

उनै भण्डारीका बारेमा बारेमा पोखरेलले लेखेको स्मरणः

पाँचाै राष्ट्रिय महाधिवेशनको समय थियो। महाधिवेशनको प्रचारप्रसार कमिटीकाे संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिएँ।

महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो। विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए।

भरतमोहन कमरेडले त्यसमा सहमती जनाउदै मदनसँग कुरा गर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म वडो उत्साहकासाथ उहाँ बस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईंहरु जस्ता साथिहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो।

उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भभो। अनि उहाँले तपाई आफैले लेख्नुहोस् । बरु प्रकाशन गर्नु पूर्व मलाई देखाउनुहोस् भन्नु भयो।

मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए। उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमति दिनु भयो। विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली बेजोड थियो।

साेही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसंग पनि वढो रोचक छ। महाधिवेशनमा जनताको वहुदलीय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो।

पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज वन्न पुगेको थियो। पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत वहसका वेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन। पूर्वको विराटनगर देखि खुला वहस आरम्भ गरिएको थियो।

चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठूलो पंक्ति पक्षमा देखिसकेको थियो  चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ।

मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर वोल्न तयार भएकोले काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो। उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बाेल्ने लगाइएको थियो। साेही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा वोल्नु भएको थियो।

पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलिय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो। पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो।

जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेकोछ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्तगर्न भएको त्यस प्रकारको कठिनाई भएको संझदा अनौठो अनुभूति हुन्छ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस। स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.