एसिया कपबाट पाकिस्तान बाहिरिने चर्चाका बीच अब भारत नै बाहिरिने खतरा बढ्यो

डिसी नेपाल
३ जेठ २०८० १२:४२
16.5k
Shares

काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेट आयोजना स्थलबारे भारत र पाकिस्तानको विवाद जारी छ । विवादका कारण यसअघि पूरै प्रतियोगिता आफ्नो देशबाहिर सार्नुपरे पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने चर्चा बढेको थियो । तर, अब सम्बन्धित देशका क्रिकेट बोर्डहरुको बोली फेरिएको छ र पाकिस्तानको सा भारत नै एसिया कपबाट बाहिरिने खतरा बढेको छ ।

अघिल्लो हप्तासम्म बंगलादेश र श्रीलंका क्रिकेट बोर्डले पूरै प्रतियोगिता पाकिस्तानबाहिर सार्ने कुरामा भारतको समर्थन गरेका थिए । यसो गर्दा प्रतियोगिता आफ्नो देशमा गराउन पाउने आशा ती देशहरुलाई लागेको थियो । र, भारतले प्रतियोगिता श्रीलंकामा गर्ने पनि भनेको थियो । तर, अहिले भने पासा पल्टिएको छ ।

इनसाइड स्पोर्टका अनुसार बंगलादेश र श्रीलंकाले एसिया कप २०२३ को लागि पाकिस्तानले ल्याएको नयाँ हाइब्रिड योजनालाई समर्थन गरेका छन् । अर्थात यसअघि भारतको कुराको समर्थन गरिरहेका २ देश अचानक पाकिस्तानको पक्षमा गएका छन् । अब एसीसी अध्यक्ष जय शाहले आगामी २ दिनमा पाकिस्तानको प्रस्तावबारे छलफल गर्नेछन् । शाह भारतीय क्रिकेट बोर्ड बीसीसीआइका सचिव पनि हुन् ।

तर, बीसीसीआइ पूरै प्रतियोगिता पाकिस्तानबाट बाहिर सार्नुपर्ने अडानमा छ । यस्तोमा बंगलादेश र श्रीलंकाले पाकिस्तानको प्रस्तावलाई समर्थन गर्नुले भारत एक्लिने देखिएको छ । दुई देश खुलेरै पाकिस्तानको प्रस्तावको समर्थनमा आएका छन् । नेपालले इतिहासमै पहिलो पटक एसिया कप खेल्न पाउने भएकोले आयोजक पाकिस्तानको कुनै पनि प्रस्तावको विरोध गर्ने कुरै आउँदैन ।

अफगानिस्तानलाई अघिल्लो महिना युएइमा सिरिज खेलिदिएर पाकिस्तानले सहयोग गरेको छ त्यसैले उसले पनि पाकिस्तानलाई समर्थन गर्ने विश्वास गरिएको छ । यस्तोमा एक्लो परेपछि भारतले या त पाकिस्तानको हाइब्रिड मोडलको प्रस्ताव मान्न बाध्य हुनुपर्नेछ । अन्यथा पाकिस्तानको प्रस्तावअनुसार खेल्दै नखेल्ने हो भने प्रतियोगिता नै बहिष्कार गर्नुपर्नेछ । र, बीसीसीआइको अडान परिवर्तन नभएकोले उसले प्रतियोगिता बहिष्कार गर्ने कुरालाई पनि नकार्न सकिन्न ।

‘मैले प्रस्ताव देखेको छैन । तर हाम्रो अडानमा कुनै परिवर्तन आएको छैन । हामी प्रतियोगिता युएईमा नभई अर्कै तटस्थ स्थानमा खेल्न चाहन्छौं । त्यहाँको गर्मीले हामी थप चोटपटकको जोखिम लिन सक्दैनौं । प्रतियोगिताका लागि श्रीलंका उपयुक्त छ । अहिलेसम्म बहिष्कार गर्ने विषयमा हामीले कुनै छलफल गरेका छैनौँ । पहिले स्थिति बुझौं र त्यसपछि हामी निर्णय गर्नेछौं,’ बीसीसीआईका एक वरिष्ठ अधिकारीले इनसाइडस्पोर्टलाई भने ।

यसअघि बीसीसीआईले पीसीबीको ‘हाइब्रिड’ मोडल अस्वीकार गरेको थियो । यसको सट्टा, बीसीसीआईले सम्पूर्ण प्रतियोगितालाई तटस्थ स्थानमा सार्न आग्रह गर्यो जसमा प्राथमिकतामा श्रीलंका थियो । त्यतिबेला श्रीलंका क्रिकेटले बीसीसीआईको प्रस्तावलाई समर्थन गरे पनि बंगलादेश क्रिकेट बोर्डले पीसीबीको निर्णयलाई समर्थन गर्यो । पहिले श्रीलंका भारतको प्रस्तावको पक्षमा देखिएपछि पीसीबीले पाकिस्तान र श्रीलंकाबीचको द्विपक्षीय टेष्ट शृंखला स्थगित गर्ने धम्की दिएको थियो ।

अब प्रतियोगिता पूरै पाकिस्तानबाहिर सार्ने जिद्दीका कारण बीसीसीआईले बिस्तारै समर्थन गुमाउँदैछ । जियोटिभीका अनुसार पाकिस्तानले हाइब्रिड मोडलमा एसएलसी र बीसीबीबाट समर्थन पाएको छ । अफगानिस्तान तटस्थ छ तर पीसीबीले गत महिना युएईमा द्विपक्षीय शृंखलामा उनीहरूलाई मद्दत गरेकोले पाकिस्तानले उनीहरूको समर्थन पाउने सम्भावना छ।

बीसीसीआई तटस्थ स्थानको कुरामा अडिग रहेको छ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को लागि समेत भारतले कुनै पनि हालतमा पाकिस्तान भ्रमण नगर्ने भनी बीसीसीआइले पहिले नै स्पष्ट गरिसकेको थियो । तर, विश्वकप बहिष्कार गर्ने धम्की दिएर पीसीबीले क्रिकेट कूटनीतिको सहारा लियो । अब एसीसीले यी दुई प्रस्तावमाथि छलफल गर्न यसै साता आकस्मिक बैठक बोलाएको छ । यसबारे अन्तिम निर्णय महिनाको अन्त्यमा हुने अपेक्षा गरिएको छ । तर, बीसीसीआई ‘न्युट्रल भेन्यू’ भन्ने आफ्नो निर्णयमा अडिग छ ।

‘हेर्नुहोस्, यो अगाडि बढ्नको लागि सबै ५ राष्ट्रहरू एउटै पृष्ठमा हुन आवश्यक छ । हामी प्रतियोगिता पूर्ण रूपमा बाहिर सार्न चाहन्छौं र यो पाकिस्तानमा राजनीतिक तनावलाई ध्यानमा राख्दै सबैको सुरक्षाको लागि हो । यस हप्ता हामी अन्य सरोकारवालाहरूसँग भेट्दा थप थाहा पाउनेछौं,’ बीसीसीआई अधिकारीले इनसाइडस्पोर्टलाई भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.