नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसभित्र तीव्र विवाद

डिसी नेपाल
४ जेठ २०८० ७:५०
256
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेताको संलग्नता पुष्टि भएपछि सत्तारुढ दल नेपाली कांग्रेसभित्र विवाद उत्पन्न भएको छ। यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन्। ।

पार्टीका पूर्वसभासद् आङ्टावा शेर्पा पनि हिरासतमा छन् भने अन्य केही प्रभावशाली नेताको नाम पनि यो प्रकरणमा जोडिएको अडियो सार्वजनिक भएको छ। सो अडियोका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

अडियोमा सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजू देउवा र बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम उल्लेख गरिएको छ। उनीहरु दुवै जना कांग्रेसका समानुपातिक सांसद पनि हुन्।

खाँणमाथि अनुसन्धान जारी रहँदा अडियोमा नाम मुछिएका आरजूसम्म पनि अनुसन्धान हुन सक्ने भय सभापति देउवामा देखिन्छ। उनी यो अनुसन्धान खाँणभन्दा माथि नपुगोस् भन्नेमा सचेत देखिन्छन्।

देउवाले यो विषयमा छलफल गर्न पार्टीको बैठक समेत बोलाएका छैनन् भने प्रहरी नियन्त्रणमा रहेको खाँणलाई निलम्बन गर्ने संकेत पनि देखाएका छैनन्। निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि गत बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ। खाँण कांग्रेसको केन्द्रीय सदस्य छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न सकेन। पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्‍याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए।

त्यसको चर्को प्रतिवाद गर्दै संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई फसाउन खोजिएको दाबी गर्दै कुनै पनि हालतमा निलम्बन गर्न नहुने अडान लिएका थिए। खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा केहीछिन चर्काचर्की परेपछि महामन्त्री थापाले खाँण आफैँले अनुसन्धानका लागि सहयोग पुर्‍याउन जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्ने विकल्प सुझाएका थिए।

संस्थापन इतर पक्षले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने पक्षमा छन्। इतर पक्षले खाँणलाई निलम्बन गर्नुपर्ने माग गर्दै आएको छ।

महामन्त्री गगन थापाले यो विषयमा विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् भने इतर पक्षले यो विषयलाई देशव्यापी अभियानका रुपमा लैजाने तयारी गरेको छ। महामन्त्री थापाको अभियानलाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत इतर पक्षका नेताको साथ छ।

इतर पक्षका नेताहरू मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतको अर्को टोलीले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन्।

देउवा पत्नी आरजू राणा र खाँण पत्नी मञ्जुले गिरोहबाट पैसा लिएको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेकै बेला पार्टी प्रवक्ता डा. प्रकाशरण महतले भने पत्रकार सम्मेलनमार्फत नै प्रतिरक्षा गरेपछि संस्थापन इतर पक्ष झस्किएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.