भ्रष्टाचारमा दागिएका नेताको राजनीतिक अवसान
पुनरागमनको प्रयत्न असफल
काठमाडौं। नेपालको राजनीतिमा उच्च पदस्थ नेताहरु भ्रष्टाचारको काण्डमा मुछिने सिलसिला निकै अगाडिदेखि हुँदै आएको छ। भ्रष्टाचारको दाग लागेका नेताहरुको राजनीतिक जीवन नै धराशायी बनेको छ।
नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेका र सुनौलो राजनीतिक भविष्य भएका नेताहरु भ्रष्टाचारको काण्डमा मुछिएपछि गुमनाम भएको लामै फेहरिस्त छ।
नेपालको राजनीतिको विकृत पाटो भ्रटाचार बन्न पुगेको छ। अनेकौं तवरले राज्यसत्ताको पहुँचमा पुग्ने र त्यसैको आडमा अकूत सम्पत्ति कुम्ल्याउने धन्दामा उच्च तहका नेताहरु नै तानिएपछि राजनीतिप्रति जनतामा थप नैराश्यता उत्पन्न भएको छ।
अधिकांश कांग्रेसका नेताहरु भ्रष्टाचारको काण्डमा मुछिएर राजनीतिक रुपमा गुमनाम भएका छन्। उनीहरुको राजनीतिक अवसान भएको छ।
कांग्रेसका चिरञ्जिवी बाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्काको राजनीतिक अवशान भ्रष्टाचार काण्डले नै गरायो।
हालसालै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको समेत आगामी राजनीतिक यात्रा
संकटपूर्ण देखिएको छ। यद्यपि अनुसन्धानको चरणमै रहेकाले यसमा उनको संलग्नताबारे निर्क्याेल हुन बाँकी नै छ। २०४६ सालमा बहुदलीय व्यवस्थाको आगमन पछि राज्यसत्तामा मुख्यतया कांग्रेस र एमालेले नै बाडोर सम्हाल्न पुगे।
उनीहरुको सत्ता राजनीतिमा बढ्दो प्रभाव र निरन्तरताले असंख्य नेताहरु राज्यको लाभदायक पदमा विराजमान हुने अवसर प्राप्त गरे। तर लाभदायक पदको दुरुपयोगले कतिपय नेताहरु भ्रष्टाचारको कलंकको टिका लगाएका छन्।
उनीहरुको अवाञ्छित गतिविधि र राज्य दोहनले राजनीति र आफ्नो समेत सार्वजनिक जीवन गुमनाम बन्न पुगेको छ। कांग्रेसका कुनै बेलाका प्रभावशाली नेता मानिएका दिवंगत खुमबहादुर खड्का नेपाली कांग्रेसको भावी नेतृत्वको रुपमा समेत चित्रित गरिन्थ्यो।
तर भ्रष्टाचारको मुद्दा लागेपछि उनी कांग्रेसको राजनीतिमा किनाराकृत भए। भ्रष्टाचारको आरोपमा लामो समय जेल जीवन व्यतित गरेर रिहा भएका उनको राजनीतिक पुनरोदय हुन सकेन।
कांग्रेस प्रजातान्त्रिकका महामन्त्री र पटक पटक सरकारमा मन्त्रीसमेत भएका उनी भ्रष्टाचारको मुद्दाले राजनीतिक यात्रा प्रतिकूल हुन पुग्यो।
जीवनको उत्तरार्धमा कांग्रेसभित्रै हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउन लागेका थिए। देशमा हिन्दुराष्ट्र पुर्नस्थापना अभियान सुरु गरेका उनको सोही समयमै निधन भयो।
यस्तै कांग्रेसका अर्का नेता गोविन्दराज जोशी समेत भ्रष्टाचारको मुद्दामा संलग्न भएको आरोपमा मुद्दा लागेपछि राजनीतिक रुपमा निष्क्रिय नै बनेका छन्।
कांग्रेसको राजनीतिबाट किनारा लागेका उनी तनहुँमा स्वतन्त्र राजनीतिक गतिविधि गरिरहेका छन्। तनहुँमा गत निर्वाचनमा कांग्रेसको आधिकारिक उम्मेदवारी विरुद्ध लागेपछि उनलाई पार्टीले कारबाही गरेको थियो।
पछिल्लो समय कांग्रेसले कारबाही फिर्ता गर्ने निर्णय गरेपनि उनले पार्टीको निर्णय अस्वीकार गर्दै वैशाख १० गते सम्पन्न तनहुँको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाएका थिए।
कांग्रेसको राजनीतिबाट विलय भएका उनको तनहुँमा भने व्यक्तिगत प्रभाव देखिएको छ। तर राजनीतिक रुपमा भ्रष्टाचारको काण्डमा मुछिएपछि ओझेलमा परेका हुन्।
कांग्रेसको सशक्त नेता रहेका उनी हालका राष्ट्रपति रामचन्द्र पौडेलसँग तनहुँमा व्याप्त अन्तर्विरोधले समेत उनको राजनीतिक जीवनले अधोगति लिुनुको प्रमुख कारक रहेको बताइन्छ।
भ्रष्टाचार काण्डमा मुछिएपछि कांग्रेसमा राजनीतिक पुनरागमनको प्रयत्न गरेपनि असमर्थ भएका उनी तनहुँमा कांग्रेसविरुद्ध समानान्तर गतिविधि चलाइरहेका छन्।
यस्तै कांग्रेसकै भ्रष्टाचार काण्डमा परेर गुमनाम भएका अर्का पात्र हुन् चिरञ्जीवी वाग्ले। उनी पनि भ्रष्टाचारको मुद्दा लागेपछि राजनीतिक रुपमा ओझेलमा परेका छन्। उनको राजनीतिक पुनरागमन हालसम्म हुन सकेको छैन।
भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले २०६७ सालमा २ करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना कैद सजायको फैसला गरेको थियो। सोही सर्वोच्च अदालतको फैसला बमोजिम जेलजीवन व्यतित गरेका उनी आजभोलि गुमनाम छन्।
अहिले कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाणँ समेत नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघको अध्यक्ष भएका खाणँ हालका सभापति शेरबहादुर देउवाको विश्वासपात्र मानिन्छन्।
उनको पक्राउले कांग्रेस सभापति देउवासमेत बिलखबन्दमा परेका छन्। अनुसन्धानकै दायरामा तानिएका खाँण गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ।
यद्यपि अनुसन्धानको चरणमै रहेकाले यसको अझै निर्क्याेल भइसकेको छैन। तर उनीमाथि लागेको आक्षेपले आगामी दिनमा उनको राजनीतिक जीवनमा धुमिल बनाउने संशय ब्याप्त छ। प्रहरीले संगठित अपराधमा अनुसन्धान थालेको यस प्रकरणमा राजनीतिक र उच्च पदस्थ कर्मचारी मुछिएका छन्।
यसले खाणँको राजनीतिक भविष्यमा समेत आघात पुर्याउने आँकलन गरिएको छ। उनको विगतको राजनीतिक विरासत गुम्ने खतरा कांग्रेस जनबाटै औंल्याउने गरिन्छ।
अनुसन्धानमै रहेकाले यस प्रकरणमा उनी दोषी ठहरिए कानूनी सजायको भागिदार बन्ने नै छन्। तर निर्दोष ठहरिए पनि उनको आगामी राजनीतिक यात्रामा पूर्ववत् विरासत कायम गर्न कष्टप्रद हुने राजनीतिका जानकारहरु बताउँछन्।







डिसी नेपाल







Facebook Comment