एशिया कपबारे अन्तिम निर्णय आइतबार हुने, नेपाललाई मात्र बैठकमा नबोलाइएको हो ?

डिसी नेपाल
११ जेठ २०८० १७:१८
10.6k
Shares

काठमाडौं । एशिया कप क्रिकेटबारे अन्तिम निर्णय आइतबार हुनेछ । आइतबार भारतको अहमदाबादमा इण्डियन प्रिमियर लिगको फाइनल हुँदैछ । र, यो फाइनल हेर्न भारतसँगै, बंगलादेश, श्रीलंका र अफगानिस्तान क्रिकेट बोर्डका प्रमुखहरु उपस्थित हुनेछन् । यही अवसरमा एक अनौपचारिक बैठक गरेर एशिया कपबारे निर्णय गरिने इएसपिएन क्रिकइन्फोले रिपोर्ट गरेको छ ।

यस वर्ष एशिया कपको आयोजक पाकिस्तान हो । पाकिस्तानले सबै खेल पाकिस्तानमै खेलाउन चाहेको भए पनि भारतले पाकिस्तान जान नमानेपछि पाकिस्तानले पछिल्लो समय समूह चरणका ४ खेल मात्र पाकिस्तानमा खेलाउने र बाँकी खेल तटस्थ स्थानमा गर्ने प्रस्ताव गरेको छ । यो प्रस्तावमा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तानले इमेलमार्फत सहमति दिइसकेका छन् ।

पाकिस्तानको प्रस्तावमा भारत मात्र सहमत हुन बाँकी छ । तर, पछिल्ला मिडिया रिपोर्टमा भारत पनि यसमा सहमत भएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको दावी गरिएको छ । आइतबार अहमदाबादमा हुने बैठकमा बीसीसीआइले पाकिस्तानको प्रस्तावमा सहमति दिने र तटस्थ स्थानबारे छलफल हुने बताइएको छ । पाकिस्तानले तटस्थ स्थानको रुपमा दुबइ प्रस्ताव गरेको छ तर अन्य देशहरुले यसमा औपचारिक सहमति जनाउन बाँकी छ ।

इएसपिएन क्रिकइन्फोले आफूले एसिया कप खेल्ने ६ मध्ये कम्तीमा ४ बोर्डसम्म पहुँच पाएको र उनीहरुले पाकिस्तानको प्रस्ताव मान्न तयार रहेको बताएको छ । बिहीबार एसीसीका अध्यक्षसमेत रहेका बीसीसीआइका सचिव जय शाहले आइतबार श्रीलंका, बंगलादेश र अफगानिस्तान बोर्डका अध्यक्षहरु आइपिएल फाइनलको लागि अहमदाबाटमा हुने र त्यहाँ बैठक हुने बताएका छन् । उनले ती बोर्डका अध्यक्षहरु बैठककै लागि नभएर आइपिएल फाइनलको लागि आउने बताएको हुँदा नेपाललाई आमन्त्रण नगरिएको संकेत देखिएको छ ।

अन्य बोर्ड अध्यक्षहरु अर्कै प्रयोजनको लागि गएको बेला अनौपचारिक बैठक हुन लागेको र त्यो कार्यक्रममा नेपालको बोर्ड सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम नभएको हुँदा नेपाल यो बैठकमा नहुने देखिएको छ । नेपालले यस वर्ष पहिलो पटक एसिया कप खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.