अबरुद्ध संसद सुचारु गर्ने तीन दलबीच सहमति, ओलीमाथि लगाइएको आरोप निराधार भएको निष्कर्ष

डिसी नेपाल
१३ जेठ २०८० ११:०२
824
Shares

काठमाडौं। अबरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दलबीच सहमति जुटेको छ । आज (शनिबार) अबरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकले सदन सुचारु गर्ने सहमति भएको हो ।

पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सो सहमतिसँगै अबरुद्ध संसद आजवाट खुल्ने भएको छ ।

आजको बैठकले एमालेअध्यक्ष ओलीलाई माओवादीका सांसद राजन दाहालले लगाएको आरोप निराधार भएको निष्कर्ष निकाल्दै सदन खुलाउन तीन दल सहमत भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

‘भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदकाे रेकर्डवाट साे हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शिर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए पछि एमालेले हिजो संसद अबरुद्ध गरेको थियो । सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखे पछि हिजो संसद चल्न सकेको थिएन ।

पशुपतिमा चढाईएको सुनमध्ये ११ किलो हराए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला माओवादी सांसद दाहालले सो बिषयलाई एकाएक संसदमा प्रवेश गराए पछि स्थीति असामान्य बन्न पुगेको थियाे । सांसद दाहालले दिएको अभिब्यक्ति गैर जिम्मेवार भन्ने निष्कर्ष पछि सो अभिब्यक्ति संसदको रेकर्डवाटसमेत हटाउने सहमति भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाए पछि एमालेले सो बिषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने अडान राख्दै सदन अवरुद्ध गरेको थियो ।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक  पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ । जसकाकारण सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची भए पनि एमालेको अबरोधका कारण हिजो सम्भव हुन सकेको थिएन ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको थियो ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.