प्रधानमन्त्रीले यही जेठ १७ देखि भारत भ्रमण गर्ने

डिसी नेपाल
१३ जेठ २०८० १९:२२
52
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेका हुन्।

भ्रमणमा प्रधानमन्त्रीको साथमा उनका स्वकीय सचिवसमेत रहेकी छोरी गङ्गा दाहाल रहनेछिन्। त्यस्तै प्रधानमन्त्रीको भ्रमणदलमा मन्त्रीहरू, सचिवहरू र उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा जेठ १८ गते भारतीय प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ । द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नेछन्।

प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखेरसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’लाई सम्बोधन एवं अन्तक्र्रिया गर्नेछन् ।

यस्तै प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्नेछन् । यस्तै भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

त्यस्तै भ्रमणका क्रममा प्रधानमन्त्रीले मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भारतबीचको सदिआँै पुरानो बहुआयामिक र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.