माओवादीको चर्चित चुनबाङ बैठक बहिस्कार गरेका नेताद्वय एमालेमा पालैपालो भूमिकाविहीन

डिसी नेपाल
२४ जेठ २०८० १३:२०
816
Shares

काठमाडौं। माओवादीको शान्तिपूर्ण राजनीतिको प्रस्थानबिन्दु मानिने चुनबाङ बैठकमा असहमति राख्ने नेताहरु पालैपालो राजनीतिक रुपमा भूमिकाविहीन देखिएका छन्।

२०६१ सालमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो।

माओवादीको उक्त बैठकमा तत्कालीन दुई पोलिटुब्यूरो सदस्य मणिचन्द्र थापा र रवीन्द्र श्रेष्ठले शान्तिपूर्ण राजनीतिक यात्रामा अवतरण गर्ने पार्टीको निर्णयप्रति असहमति राखेका थिए।

उनीहरुको असहमति पछि माओवादीले दुबैलाई कारबाही गरेको घोषणा गरेको थियो। त्यसयता अनेकौं राजनीतिक गतिविधि गर्दै आइरहेका नेताद्वय अन्ततः पालैपालो एमाले बन्न पुगेका थिए।

सुरुमा माओवादी शान्तिपूर्ण राजनीतिमा आए लगत्तै २०६४को संविधानसभाको निर्वाचन अगावै श्रेष्ठ एमाले बन्न पुगे। उनी २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेका थिए। त्यस यता श्रेष्ठको राजनीतिक सक्रियता देखिँदैन।

यस्तैे अलग्गै राजनीतिक गतिविधि गर्दै अघि बढिरहेका थापा २०७३ मा नेकपा (माओवादी केन्द्र) मा समाहित भएका थिए। उनी एमाले र माओवादीबीच एकता भएर बनेको नेकपामा रहँदै गर्दा पार्टी विभाजनपछि एमालेतर्फ लागेका हुन्।

एमालेमा लागेर स्थायी समिति सदस्य रहेका थापा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री समेत बनेका थिए।हाल उनी पार्टीमा भूमिकाविहीन देखिएका छन्।

एमालेका सम्पूर्ण (३४९) जना केन्द्रीय सदस्यले पार्टीको नयाँ कार्यविभाजन अनुसार जिम्मेवारी पाउँदा थापालाई भने कुनै जिम्मेवारी दिइएको छैन। । यद्यपि एमालेको अन्तरपार्टी निर्देशिकामा थापा बिदामा बसेको उल्लेख गरिएको छ।

समयक्रममा एमालेमा पुगेका माओवादीको चर्चित चुनबाङ बैठकमा असहमति राख्ने दुबै नेताहरु राजनीतिक रुपमा भूमिकाविहीन देखिन थालेका छन् । माओवादी शान्ति प्रक्रियामा आएको सुरुवाती समयमै एमाले प्रवेश गरेर मन्त्री बनेका श्रेष्ठ हाल राजनीतिक रुपमा गुमनाम छन्।

संयोगवश यस अघि एमालेबाट किनाराकृत भएका श्रेष्ठकै नियती अहिले थापामा दोहोरिएको छ। उनलाई पनि एमालेले पछिल्लो कार्यविभाजनमा कुनै भूमिका दिएको छैन।

राजनीतिक रुपमा निष्क्रिय देखिएका थापा पछिल्लो समय सांगीतिक कार्यमा व्यस्त देखिएका छन्। केही समय अघि जनवादी कलाकारहरुको संयुक्त टोलीसँगै मेची महाकाली यात्रामा निस्किएका थिए। उनी साहित्य सिर्जना र गीत संगीत रचनामा रुची राख्ने गर्दछन्।

माओवादीमा रहँदा सांस्कृतिक विभागको जिम्मेवारीमा रहेर काम गरेका थापा जनवादी गीतका सर्जक पनि हुन्। माओवादी जनयुद्धकाल र त्यस अगावै समेत उनले सिर्जना गरेका गीतहरु बहुचर्चित छन्।

एमालेमै रहेपनि थापाले लामोसमय देखि असन्तुष्ट रहेको सार्वजनिक रुपमा बताउँदै आएका थिए। उनले एमालेमा पूर्वमाओवादीहरु पिल्सिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

याे पनि पढ्नुस्

चुनवाङमा असहमति, एमाले प्रवेश गरेर मन्त्री

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.