एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चित, नेपालले एउटा खेल मात्र पाकिस्तानमा खेल्ने

डिसी नेपाल
२८ जेठ २०८० १२:११
10.4k
Shares

काठमाडौं । भारत र पाकिस्तानको विवादका कारण अन्योलमा परेको एसिया कप निर्धारित समयमै हुने लगभग निश्चित भएको छ । यद्यपि पाकिस्तानले पहिले प्रस्ताव गरेको तटस्थ स्थान युएइमा भने खेल हुने छैन । यसको सट्टा श्रीलंकालाई तटस्थ स्थानको रुपमा छानिएको छ ।

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गर्ने सम्भावना उच्च भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । यो मोडलअनुसार पाकिस्तानमा प्रतियोगिताका १३ खेलहरूमध्ये चार वा पाँच खेलहरु हुन सक्छन् । यीमध्ये नेपालले एउटा मात्र खेल पाकिस्तानमा खेल्नेछ । यो खेल नेपालले पाकिस्तानविरुद्ध खेल्नेछ ।

भारत कुनै पनि खेलका लागि पाकिस्तान नजाने भएकोले नेपालले समूह चरणको दोस्रो खेल श्रीलंकामा खेल्नुपर्नेछ । किनकि नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन् र नेपालको समूह चरणको दोस्रो खेल भारतविरुद्ध हुनेछ । समूह चरणका खेल सकिएपछि सुपर ४ का खेल र फाइनल सबै तटस्थ स्थान अर्थात श्रीलंकामा हुनेछन् ।

क्रिकइन्फोले प्रतियोगिता हाइब्रिड मोडलअनुसार हुने कुराको आधिकारिक घोषणा यो सप्ताहान्तपछि अर्थात भोलि सोमबार हुने दावी गरेको छ । प्रतियोगिताको लागि छुट्याइएको विन्डो सेप्टेम्बर १ देखि सेप्टेम्बर १७ बीचको हो । प्रतियोगिता हुने तटस्थ देशको आधिकारिक घोषणा भएपछि पाकिस्तानले खेलको तालिका जारी गर्नेछ । पाकिस्तानमा हुने खेलका लागि लाहोरको गद्दाफी स्टेडियम छानिने सम्भावना उच्च छ ।

एसीसीले पाकिस्तानको प्रस्ताव स्वीकृत गर्नुले क्रिकेटका अन्य ठूला प्रतियोगिताको गतिरोध पनि हटाउने अपेक्षा गरिएको छ । यसै वर्ष भारतमा एकदिवसीय विश्वकप पनि आयोजना हुँदैछ । र, एसीसीले पाकिस्तानको प्रस्ताव अनुमोदन गरेपछि यसले पाकिस्तान विश्वकप खेल्न भारत आउने बाटो पनि खोल्नेछ । यससँगै २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको सम्भावित गतिरोध पनि यसले सहज बनाउनेछ ।

भारत र पाकिस्तानले अर्काको देशमा यात्रा गर्न नचाहेका कारण समाधानका रूपमा हाइब्रिड मोडल प्रस्ताव गरिएको हो । भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि पाकिस्तानले होस्टिंग अधिकार कायम राख्नको लागि यो मोडेलमा जाने प्रस्ताव गरेको थियो ।

विश्वकपको तयारीस्वरुप ५० ओभरको फर्म्याटमा आयोजना हुने ६ राष्ट्रको एसिया कपमा नेपालसँगै भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । १३ दिनमा फाइनल सहित कुल १३ खेल हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.