संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध परेका उजुरी अध्ययन हुने

डिसी नेपाल
२९ जेठ २०८० ९:५६
52
Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ। यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो।

सो समयमा परेका उजुरी सोमबार बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन्। प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ।

यसैबीच   न्यायपरिषदले कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। आइतबार न्यायपरिषद सचिवालयका सहसचिव मानबहादुर कार्कीले कामु प्रधानन्यायाधीश कार्कीलाई अनिवार्य अवकाश हुने पत्र दिएका हुन्।

‘यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तित वितरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०/०४/१९ मा ६५ वर्ष पूरा भइ उमेरका कारणले मिति २०८०/०४/२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्यायपरिषद ऐन २०७३को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ।

कुनै न्यायाधीश उमेरको कारणले अवकाश हुने भएमा न्यायपरिषदले त्यसको जानकारी कम्तिमा ६० दिन अगाडि नै दिनुपर्ने व्यवस्था भएपनि कामु प्रधानन्यायाधीश कार्कीलाई भने आठ दिन ढिला गरि पत्र दिइएको छ।

न्याय परिषद ऐन, २०७३ को दफा ३१: पदमा नरहेको जानकारी गराउने: (१)” कुनै न्यायाधीश उमेरको कारणले अवकाश हुने भएमा न्याय परिषदले निज अवकाश हुनुभन्दा कम्तीमा साठीदिन अगावै सोको जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ।” भन्ने उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.