बजेटका विषयमा नेकपा एसको असन्तुष्टि के हो?

सरकार छोड्ने धम्की दिएर बार्गेनिङको प्रयास

डिसी नेपाल
२९ जेठ २०८० ११:१७
136
Shares

काठमाडौं। सरकारलाई समर्थन गर्दै सरकारमै सहभागी भएको एकीकृत समाजवादीले बजेटप्रति असन्तुष्टि जनाउँदै सरकार ढल्ने आशयले अभिव्यक्ति दिन थालेको छ।

अध्यक्ष माधव नेपालले नै बजेट नसच्याउने हो भने सरकार ढल्ने आशयको अभिव्यक्ति दिइरहेका छन्।

खासमा बजेटप्रति एकीकृत समाजवादीको असन्तुष्टि के हो?

एकीकृत समजावादीले बजेटलाई आधार बनाएर राजनीतिक सहभागीतामा आफ्नो पहुँच बढाउन खोजेको जानकारहरु बताउँछन्। संयुक्त सरकार भएपनि कांग्रेसको एकमना सरकारकै जस्तो गरि बजेट ल्याएको उसको आरोप छ।

बजेट निर्माण गर्दा पक्षपात गरेको, तीन वटा जिल्ला (गोराखा, डुडेल्धुरा र नुवाकोट) मा बजेट खन्याएको र बजेट निर्माण गर्दा आफूहरुलाई बेवास्ता गरेको एकीकृत समाजवादीको ठहर छ।

तर यही विषयलाई लिएर सरकार छोडिहाल्ने अवस्था भने नभएको नेताहरुले बताएका छन्। बजेटकै विषयमा उसले आज प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि छलफल गर्दैछ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बजेट निर्माणमा आफूहरुको सहभागितालाई अर्थमन्त्रीले बेवास्ता गरेको आरोप लगाए।

सरकारको महत्वपूर्ण दललाई बेवास्ता गर्दै कांग्रेसको एकल सरकार झैं अर्थमन्त्रीले बजेट निर्माण गरेको भन्दै उनले बजेट निर्माण र बजेटमा समावेश भएका केही बुँदाप्रति आफूहरुको आपत्ति रहेको जनाए।

विशेष गरी चुरे दोहन, अन्य दलका योजना कतौटीलगायतका विषयमा एकीकृत समाजवादीको असन्तुष्टि रहेको उनको भनाइ छ।

सरकार निर्माणताका सरकारमा सम्मिलित दलको न्युनोतम साझा कार्यक्रमको मर्म र भावना अनुरुप बजेट आउन नसकेको र बजेट निर्माणमा पार्टीलाई पूर्णरुपमा बेवास्ता गरेकोमा एकीकृत समाजवादीको मुख्य आपत्ति हो।

अहिले बजेट निर्माणमा जस्तै अन्य राजनीतिक विषयमा आफूहरुलाई बेवास्ता गरेर जाने अवस्था नआओस भनेर सरकारलाई चेतावनी स्वरुप सरकार ढल्ने आशयले एकीकृत समाजवादीका नेताहरुको अभिव्यक्ति आएको बताइन्छ।

बजेटकै विषयलाई लिएर सरकार छोडिहाल्ने पक्षमा पार्टी नरहेको नेताहरुले बताएका छन्।

‘यो सरकार तत्काल परिवर्तन हुन बनेको होइन। केही समय यो सरकार चल्छ। बजेट निर्माणमा हामीलाई बेवास्ता गरिएजस्तै अन्य राजनीतिक विषयमा पनि हामीलाई बेवास्ता नगरियोस् भनेर अहिले सरकार ढल्ने आशयको अभिव्यक्ति आएको हो,’ एक नेताले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.