विश्वकपमा भारत र पाकिस्तानको भिडन्त अक्टोबर १५ मा अहमदाबादमा हुने
काडमाडौं । यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपमा धेरैको चासो हुने भारत र पाकिस्तानको भिडन्त अक्टोबर १५ मा अहमदाबादमा हुने भएको छ । आयोजक भारतले तयार गरेको विश्वकपको ड्राफ्ट तालिकाअनुसार १ लाखभन्दा धेरै सिट क्षमता भएको रंगशालामा भारत र पाकिस्तानको भिडन्त राखिएको हो ।
इएसपिएन क्रिकइन्फोका अनुसार विश्वकपका सबै खेलहरुको पूर्ण तालिका तय भइसकेको छैन तर आयोजक बीसीसीआइले आइसीसीलाई पठाएको प्रस्तावित तालिकामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल अहमदाबादमा हुने प्रस्ताव गरिएको छ । विश्वकपको उद्घाटन खेल अक्टोबर ५ मा हुनेछ र यस दिन अघिल्लो विश्वकपको फाइनलमा भिडेका इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआइले आइसीसीलाई प्रस्तावित ड्राफ्ट तालिका पठाएको छ । आइसीसीले पनि यो तालिका सबै प्रतिस्पर्धी देशहरुलाई पठाएको छ । सबै देशबाट सुझाव आएपछि अर्को हप्ता तालिकालाई अन्तिम रुप दिइनेछ ।
नेपाल पनि यो विश्वकप खेल्न जाने दावेदारमध्येको एक हो । आगामी आइतबारदेखि जिम्बाब्वेमा विश्वकप छनोट खेल हुँदैछ । यो छनोट खेलबाट शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन् । विश्वकप छनोटमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
अहिलेको विश्वकपमा समूह विभाजन हुने छैन । यो विश्वकप राउण्ड रोबिन फरम्याटमा खेलाइनेछ । जसअनुसार विश्वकपमा खेल्ने १० टिमले अन्य ९ वटै टिमसँग १–१ खेल खेल्नेछन् । सबै टिमले एक अर्कासँग खेलिसकेपछि अंक तालिकाको शीर्ष ४ टिम सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनलमा अंक तालिकाको शीर्ष टिम र चौथो टिम भिड्नेछन् । अर्को सेमिफाइनलमा दोस्रो र तेस्रो टिम भिड्नेछन् । दुवै सेमिफाइनलमा विजेताहरु फाइनलमा उपाधिको लागि भिड्नेछन् ।







डिसी नेपाल








Facebook Comment