मधेसका मुख्यमन्त्री यादवको पक्षमा दोस्रो पटक शतप्रतिशत मत

डिसी नेपाल
३० जेठ २०८० २२:१५
360
Shares

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । आज आकस्मिकरुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कूल एक सय तीन प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा एक सय तीन अर्थात् शतप्रतिशत मतदान भएको छ ।

नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले पहिलोपटक पनि शतप्रतिशत नै मत प्राप्त गरेका थिए ।

यसअघि, प्रदेशसभाका शतप्रतिशत सदस्यको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सदस्यको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए।

सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तीस दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मङ्गलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिएका हुन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा एक सय तीन र विपक्षमा शून्य मत खसेको सभालाई जानकारी दिए । एक सय सात सदस्यीय प्रदेशसभामा मङ्गलबार तीन सदस्य अनुपस्थित भए।

सभामुख मण्डलले भने मत विभाजन प्रक्रियामा सहभागिता जनाएनन् । मुख्यमन्त्री यादवले प्रदेशसभाको पहिलो ठूलो दल एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएका छन् ।

यसअघि २०७९ पुस २७ गते प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको थिएन भने पछि लोसपाका नौ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सदस्यको समर्थन पाएका थिए। प्रदेशसभामा सात जनामात्र सदस्य रहेको एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको थियो ।

मुख्यमन्त्री यादव १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । उनले अब एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका नौ, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्ति पार्टीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नेपाल सङ्घीय समाजवादी पार्टीका एक तथा स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन छ ।

मधेस प्रदेश सरकारको दोस्रो कार्यकालका लागि २९ पुस २०७९ मा शपथ लिएसँगै कार्यभार सम्हालेका मुख्यमन्त्री सरोजकुमार यादवलाई गत ४ माघमा बसेको प्रदेशसभा बैठकमा उपस्थित एक सय दुई जना प्रदेशसभा सदस्य अर्थात् शतप्रतिशतले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत प्राप्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.