बलियो वेष्ट इण्डिजविरुद्ध नेपालको परीक्षा
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट ईण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।
चार पटकको विश्वकप विजिताको वेष्ट ईण्डिज नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो । वेष्ट ईण्डिज सन् १९७५ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकपको पहिलो संस्करण र सन् १९७९ मा भएको दोस्रो संस्करण गरी दुई पटक एकदिवसीय विश्वकप तथा सन् २०१२ र २०१६ गरी दुई पटक टी२० विश्वकप जितेको छ । विश्वस्तरीय ब्याटरको बाहुल्यता रहेको वेष्ट ईण्डिजले आज नेपालमाथि सहज जित निकाल्न चाहन्छ । तर पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको नेपालले पनि वेष्ट ईण्डिजलाई हराउने सोचका साथ मैदानमा उत्रनेछ ।
जारी विश्वकप छनोटका पहिलो खेलमा कमजोर बलिङका कारण जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई ६ विकेटले हराएको थियो । वेष्ट ईण्डिजले पनि आफ्नो पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । वेष्ट ईण्डिजविरुद्धको तेस्रो खेलमा जितको लय कायम राख्न सके सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो बन्नेछ ।
साई होपको कप्तानीमा रहेको वेष्ट ईण्डिजको प्रमुख प्रशिक्षकका रुपमा टोलीलाई दुई पटक टी२० विश्वकप जिताउने कप्तान ड्यारेन शमी रहेका छन् । विष्फोटक ब्याटरले भरिएको वेष्ट ईण्डिजको टोलीले आज नेपालमाथि रनेको बर्षा गराउन चाहन्छ । साई होप, काइल मेयर्स, ब्रेन्डन किंग, जोनसोन चार्ल्स, निकोलस पुरन, रोभमन पावेल जस्ता उत्कृष्ट ब्याटर तथा अलराउण्डरले भरिएको वेष्ट ईण्डिजका अगाडी नेपाललाई सहज भने पक्कै हुनेछैन । यीमध्ये एक खेलाडी पनि लामो समय क्रिजमा टिक्न सके भने खेल नेपालको हातबाट खोस्न सक्नेछन् । तर वेष्ट ईण्डिजका पूर्व ब्याटिङ प्रशिक्षक रहेको नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाई आजको खेलमा नेपालका लागि निर्णायक बन्न सक्छन् । उनलाई वेष्ट ईण्डिजको ब्याटिङ कमजोरीको बारेमा राम्रोसँग थाहा छ । मोन्टीले सन् २०१९ देखि २०२३ सम्म वेष्ट ईण्डिजको टोलीमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए ।
विश्वस्तरीय खेलाडीले भरिएको वेष्ट ईण्डिजका बलर पनि आज नेपालको लागि घातक बन्न सक्ने देखिएको छ । अल्जारी जोसेफ, किमो पौल, जेसन होल्डर लगायतका तिव्र गतिका बलर तथा अकिल होसेन, रोस्टन चेस र यानिक कारिहाजस्ता स्पिनरको अगाडी ब्याटिङ गर्न नेपाललाई सहन भने पक्कै हुनेछैन । पछिल्लो समय राम्रो लयमा रहेका आपनर कुशल भुर्तेल र आसिफ शेखले टोलीलाई राम्रो सुरुवात दिलाउन चाहन्छन् । भुर्तेल जिम्बाब्वेसँग ९९ रनमा आउट भएका थिए भने आसिफले ६६ रन बनाएका थिए । यी दुईले जिम्बाब्वेविरुद्ध १७१ रनको साझेदारी गरेका थिए । यस्तै भीम शार्की पनि राम्रो ब्याटिङ गर्ने सक्ने खेलाडी हुन् । उनले दोस्रो खेलमा अमेरिकाविरुद्ध ७७ रनको नटआउट पारी खेल्दे नेपाललाई जित दिलाएको थिए । कुशल मल्ल, कप्तान रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरीले पनि नेपालको ब्याटिङ सम्हाल्नेछन् ।
बलिङमा भने आज करण केसीमामाथि प्रमुख जिम्मेवारी रहनेछ । घाइते सोमपाल कामी नेखेलेको अवस्थामा करणले नै प्रमुख भूमिका निभाउनुपर्ने हुन्छ । उनले अमेरिकाविरुद्ध ४ विकेट लिएका थिए । यस्तै गुल्शन झा, ललित राजवंशी र सन्दीप लामिछानेले पनि उनलाई साथ दिनेछन् । पछिल्लो दुई खेलमा लय गुमाएका सन्दीपबाट आजको खेलमा भने नेपालले उच्च प्रदर्शनको आशा राखेको छ । कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पनि बलिङ गर्नेछन् ।







डिसी नेपाल








Facebook Comment