नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए ।
भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए । नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए ।
सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनु पर्ने हुन्छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।
तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो ।







डिसी नेपाल








Facebook Comment