बजेट पारितका लागि प्रस्ताव पेस हुँदै, पक्षमा मतदान गर्न कांग्रेस र माओवादीकाे ह्विप

डिसी नेपाल
१३ असार २०८० ७:४८
116
Shares

काठमाडौं। अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ।

कार्यसूची पेस गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने छन्।

अन्तिममा अर्थ मन्त्री डा. प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

साथै उनले “आर्थिक विधेयक २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच  नेपाली कांग्रेसले संसदमा पेस गरिएको आर्थिक २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ। गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिएको थियो।

उक्त विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफलपछि निर्णायार्थ प्रस्तुत गर्ने तयारी गरिरहँदा सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई उक्त दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन्।

उता सरकारकाे नेतृत्व गरेकाे माओवादी केन्द्र को  संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्विप (निर्देशन) लगाएको छ।

मंगलबार प्रत्येक सांसदलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गरेका छन्।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले हस्ताक्षर गरेको ह्विपको पत्रमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.