भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्दै

डिसी नेपाल
१५ असार २०८० ११:२३
100
Shares

काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २४ असारदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सो शेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ७ गते हुनेछ भने ढिलोमा साउन २२ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिचार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *