मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो

डिसी नेपाल
१५ असार २०८० १५:०८
2.3k
Shares

काठमाडौँ। मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो। यस जितसँगै नेपाल समुह ए को विजेतासमेत बन्यो।

नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए।

त्यस्तै कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए। त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए। त्यस्तै सन्तोष यादवले दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो। नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको योगदान दिए। सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए। त्यस्तै दीप भुजेलले १५ रन जोडे। निरजकुमार यादव आठ रनमा आउट भए।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई/दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे। यसहारसँगै मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.