प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित
काठमाडौं। आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।
विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए। त्यसअघि विधेयकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले सरकारले स्वदेशी उत्पादनकर्ताहरुलाई प्रोत्साहन गर्ने गरि बजेट ल्याएको बताए।
किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएकाले नै सरकारले साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने व्यवस्था गरिएको उनले बताए।
अर्थमन्त्री महतले सूर्तिजन्य पदार्थमा सरकारले आवश्यक कर थप गरेको जानकारी दिए । उनले विपत् अथवा भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि केहि बजेट राख्ने गरिएको बताए।
त्यस्तै विधेयकको छलफलका क्रममा सांसदहरुले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क नलगाएको तर विद्यार्थीहरुले प्रयोग गर्ने वस्तुहरुमा कर लगाइएको बताएका थिए । उनीहरुले स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए ।







डिसी नेपाल








Facebook Comment