जिम्बावेको विश्वकप खेल्ने सपना समाप्त
काठमाडौं । घरेलु टोली जिम्बावे आइसिसी विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग पराजित हुँदै बाहिरिएको छ । क्विन्स स्पोर्ट्स क्लबमा आज भएको खेलमा स्कटल्यान्डसँग ३१ रनले पराजित भएसँगै जिम्बावेको आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।
जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४१.१ ओभरमा २ सय ३ रनमा अल आउट भयो । जिम्बावेका रायन बर्लले सर्वाधिक ८३ रन बनाए । त्यस्तै वेस्ली मधेभेरले ४० रन बनाउँदा सिकन्दर राजा ३४ रनमा आउट भए । स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन म्याकमुलेन र माइकल लिस्कले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले ४८ रन बनाए । यस्तै म्याथु क्रसले ३८ रन बनाउँदा जर्ज मुन्शेले ३१ रन बनाए । जिम्बावेका सन विलियम्सले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ३ विकेट लिए । टेन्डाई चतराले ७ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।
जिम्बावे ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंकका साथ तेस्रो स्थानमा छ । उता स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड रनरेटको आधारमा दोस्रो स्थानमा उक्लिएको हो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।
बिहीबार नेदरल्यान्ड् र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा स्कटल्यान्ड विजयी भए सोझै विश्वकपमा पुग्नेछ । यदि स्कटल्यान्ड पराजित भएमा नेट रनरेटमा माथि रहने टोली विश्वकपमा पुग्नेछ ।







डिसी नेपाल







Facebook Comment