२८ असारदेखि आईपीओ बिक्री खुला गर्दै माण्डु हाइड्रोपावर

डिसी नेपाल
२५ असार २०८० १२:३४
640
Shares

काठमाडौँ। माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ असार २८ गते (बिहीबार)देखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गर्न लागेको हो। यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाहरुका लागि जारी गर्ने भएको छ।

यस कम्पनीले १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो। उक्त सेयरमा ललितपुर  जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। त्यस्तै, मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिकाको वडा नं ५,६,७ र ८ तथा इन्द्र सरोपर गाउँपालीकाको वडा नं ३ का स्थानीय बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ। दुवै सूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *