प्रधानमन्त्री कप भलिबल : पुलिसको लगातार तेस्रो जित
पुलिस क्लबले काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले दावाली मिलनमाथि ३–० को सोझो सेट जित निकालेको हो । जसअनुसार पुलिस २५–२१, २५–१९ र २५–१७ को सेटले विजयी भयो । त्यस्तै मंगलबार नै भएको पुरुषतर्फको अर्को खेलमा गण्डकी प्रदेश टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको छ । पराजित भएसंगै गण्डकी लिग चरणबाटै बाहिरिएको छ । खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित हात पारेको हो ।
त्यस्तै मंगलबार भएको महिलातर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले २५–९, २५–१२, २५–१२ को सोझो सेटमा जित हात पारेको हो ।
त्यस्तै अर्को खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित हात पारेको छ । न्यू डायमण्डले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । न्यू डायमण्डले २५–१५, २५–२१, १९–२५, २२–२५ र १५–९ को सेटमा जित निकालेको हो । प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार छ ।







डिसी नेपाल







Facebook Comment