विश्वकप खेल्न पाकिस्तान भारत गएन भने अन्याय हुनेछ : मिस्बाह उल हक

डिसी नेपाल
३१ असार २०८० १४:३५
4.6k
Shares

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मिस्बाह उल हकले आफ्नो टोली विश्वकप खेल्न भारत जानुपर्ने बताएका छन् । पाकिस्तानी टोली भारत नगएमा फ्यानमाथि अन्याय हुने उनले बताए ।

यसै वर्ष भारतले आयोजना गर्न लागेको एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको टोली आउने वा नआउने भन्ने विषयमा स्पष्ट धारणा छैन ।

समाचार एजेन्सी पीटीआईका अनुसार एक कार्यक्रममा मिस्बाह उल हकले भने, “जब यी दुई टोलीले अन्य खेलमा खेल्न सक्छन् भने क्रिकेटमा किन हुँदैन ? क्रिकेटलाई राजनीतिक सम्बन्धसँग किन जोड्ने ? दर्शकहरूले उनीहरूको टोली हेर्ने मौका पाउँछन्। खेल्न नदिनु अनुचित हो।”

अन्तर्राष्ट्रिय क्रिकेटमा ११ हजारभन्दा बढी रन बनाएका मिसबाहले भने, ‘भारत र पाकिस्तानबीचको क्रिकेटलाई फलो गर्ने फ्यानहरूमाथि अन्याय भएको छ ।’

भर्खरै पाकिस्तान क्रिकेट बोर्डले आईसीसी र बीसीसीआईलाई आफ्नो टोली भारतमा विश्वकप खेल्न आउने वा नआउने निर्णय सरकारको मनोवृत्तिमा निर्भर रहेको जानकारी दिएको छ।

यसैबीच भारतले पाकिस्तानमा आयोजना हुन लागेको एसिया कप खेल्न छिमेकी मुलुक जान अस्वीकार गरेको छ । अब एसिया कपका चार खेल पाकिस्तानमा र नौ खेल श्रीलंकामा हुनेछन् ।

मिस्बाह उल हकले पाकिस्तानले भारत जानुपर्ने र भारतीय टोलीले पाकिस्तानमा आएर खेल खेल्नुपर्ने बताए ।

उनले भने, “पाकिस्तानले पनि भारतमा विश्वकप खेल्नुपर्छ। मैले जति पटक भारतमा खेलेको छु, हामीले त्यहाँको दबाब र भीडको आनन्द उठाएका छौं। किनभने यसले तपाईंलाई उत्प्रेरित गर्छ र भारतको अवस्था हामीलाई अनुकूल छ।”

मिस्बाहले पाकिस्तानी टोलीसँग भारतीय पिचमा राम्रो प्रदर्शन गर्ने क्षमता रहेको बताए । मिस्बाहले आफ्नो टोलीका खेलाडीलाई क्रिकेट र विश्वकप जित्नेमा मात्र ध्यान दिन सुझाव दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.