भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । भारत ‘ए’ का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय पारी खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय पारी खेले । धुव्र जुरेलले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । सोमपाल कामीले १४ तथा देव खनालले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगरगेकरले ३ तथा हर्षित रानाले २ विकेट लिए ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । आजै भएको अर्को खेलमा युएईलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ ।







डिसी नेपाल







Facebook Comment