इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ‘ए’ लाई
काठमाडौं । एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकामा सम्पन्न भएको खेलमा भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान ए लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान च्याम्पियन भएको हो ।
पाकिस्तान ए ले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ए ४० ओभरमा २ सय २४ रन बनाउदै अलआउट भयो। भारत ए का लागि ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
कप्तान यश धुलले ४१ बलमा ३९ तथा रियान परागले १४ रन बनाए । ओपनर साई सुदर्शनले २८ बलमा २९ रन बनाए । पाकिस्तान ए का लागि सोफियान मुकिमले ३ तथा मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालले समान २र२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो ।
पाकिस्तान ए का लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । लिस्ट ए मा चौथो शतक ताहिरले ६६ बलमा पूरा गरेका थिए । पाकिस्तान ए ले १ सय २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर सैब अयबले ५१ बलमा ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ६५ रन बनाए ।
मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए । ओमिर युसुफ ३५ बलमा ३५ रन बनाउँदै आउट भए । भारत ए का लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २/२ तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले समान १/१ विकेट लिए ।
यस अघि २०१९ मा भएको पछिल्लो संस्करण समेत पाकिस्तानले जितेको थियो । प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो







डिसी नेपाल







Facebook Comment