‘खेलाडी छन्, खेलमैदान छैनन्’
भक्तपुर। भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन्। खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले सक्दो प्रयास गरेको तर खेल मैदान नहुँंदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेको उनीहरुले बताए।
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने विषयमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरुले यस्तो बताएका हुन्। कार्यक्रममा सहभागी वक्ता स्कुलका प्रतिनिधिहरुले यही कारण जिल्लामा खलकुद विकासले फड्को मार्न नसकेको बताए।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेल मैदानको अभावमा जिल्लामा खेलकुद क्षेत्र पछाडि परेको स्वीकारे। ‘हामीसँंग एउटा पनि खेलकुद मैदान छ्रैनन्,’ उनले भने, ‘केही खेल मैदानहरु छन्, ती पनि स्थानीय निकायको नियन्त्रणमा छन्।’
भक्तपुरमा सबैभन्दा ठूलो भक्तपुर नगरपालिका–७ मा माहेश्वरी खेल मैदान छ। अहिले यस खेलकुद मैदान काम चलाउ मैदानको रुपमा प्रयोगमा छ। वर्षामा हिलाम्य भएर यसलाई प्रयोग गर्न सकिने अवस्था छैन। यसलाई फुटबल मैदानसहितको रंगशालाको रुपमा स्तरोन्नति गरिने योजना राखेको एक दशक भए पनि अहिलेसम्म यसले मूर्तरुप लिन सकेको छैन।
‘अव्यवस्थित हुँदै रहेको उक्त मैदानलाई बाह्रै महिना फुटबल खेल्न मिल्ने गरी रंगशाला बनाउन लागिपरेका छौं,’ उनले भने। यसको लागि भक्तपुर नगरपालिकाले बजेट पनि विनियोजन गरेको छ। भक्तपुरकै एकमात्र उक्त मैदानमा पाँच हजारभन्दा बढी दर्शक अट्ने प्याराफिट निर्माण हुने जनाइएको छ।
कृत्रिम घाँस बिछ्याएर उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको बताइएको छ। उक्त खेल मैदानको स्तरोन्नती गर्दै रंगशाला बनाउनको लागि भक्तपुर नगरपालिकाले डिजाइनसमेत तयार गरिसकेको जनाइएको छ। तर यसले मूर्तरुप भने अहिलेसम्म लिन पाएको छैन।
प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास गर्न खेलमैदानको अभावसहित अन्य विविध समस्याहरु रहेको सुनाए। उनले एउटै स्कुलमा धेरै खेलमा विद्यार्थीहरुले रुचि राख्ने, तर त्यसअनुसार प्रशिक्षक राख्न नसकिने अवस्था रहेको बताए। आर्थिकभार पर्ने भएकाले धेरै जना प्रशिक्षक राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्नेलगायतका आर्थिक भार रहेको उनले बताए।
प्याब्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने, तर त्यस अनुसारको मैदान, प्रशिक्षक राख्न नसकिने समस्या रहेको बताए।
कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलहरुको प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रिन्सिपल तथा प्रतिनिधिहरुले ‘एक विद्यार्थी : एक खेलाडी’ आवश्यक रहेको तर पनि खासै उपलव्धी हासिल गर्न नसकेको बाध्यता सुनाए।







डिसी नेपाल







Facebook Comment