सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको भूमिका शंकास्पद छ : डा सुनील शर्मा

डिसी नेपाल
११ साउन २०८० १३:१९
144
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले देशको नीतिगत तहमा भ्रटहरुको बाहुल्य रहेको टिप्पणी गरेका छन्।

उनले भ्रष्टाचार र तस्करीलाई संस्थागत रुपमा राज्यसञ्चालकहरुले नै प्रश्रय दिएकाले त्यसैको उपज पछिल्लो सय केजी सुन प्रकरण बाहिरिएको बताए।

विमानस्थलबाट पक्राउ परेको सय केजी सुन प्रकरणमा बहालवाला गृहमन्त्री र अर्थमन्त्रीको भूमिका संकास्पद भएको उनले आरोप लगाए।

बिहीबार डिसी नेपालसँगको कुराकानीमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको भूमिका शंकास्पद रहेको दाबी गरेका हुन्।

दुबै मन्त्रीको तालुकदार विभागीय निकाय नै बेखबर भएर सुन बाहिरिनुमा उनीहरु नैतिक रुपले जिम्मेवारी लिँदै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउन सुझाए।

उनले दुबै जना मन्त्रीले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताउँदै भने, ‘दुबै मन्त्रीको विभागीय निकाय बेखबर छ। प्रधानमन्त्री मातहतको राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। उहाँहरुको असक्षमता उदांगो हुँदा पनि पदमा बस्न लाज छैन।’

सांसद शर्माले नेपालको सबै नीतिगत तहमा भ्रष्ट र तस्करकै बोलवाला भएको भएकाले त्यसको विरुद्धमा आफू उभिन तयार रहेको जिकिर गरे। उनले यसको जालो ताड्ने प्रयत्नस्वरुप आफूले सदनमा आमरण अनसन बस्ने घोषणा गरेको बताए।

‘देश भ्रष्टाचारले आक्रान्त बनिसकेको छ। कुनै पनि क्षेत्र यसबाट विमुख छैन। यो हदसम्मको लापरवाही र मिलेमतोमा देशको प्रमुख विमानस्थलबाट सुन बाहिरिएको छ। तैपनि सम्बन्धित मन्त्रीहरु मुकदर्शक बनेर बसेका छन्।,’ सांसद शर्माले अगाडि भने, ‘नैतिकताको सबक सिकाउन अनसनको घोषणा गरेको हुँ। जस्तोकुमै चुनौतीपूर्ण अवस्थामा पनि म त्यसका लागि तयार छु।’

नेपाली जनताको पक्षमा जोखिम मोल्न तयार भएर यो निर्णयमा पुगेको उनको भनाइ थियो। उनले राज्य संयन्त्रकै उच्च तहको  सेटिङमा सुन तस्करी भएको दाबी गरे। त्यसका लागि आफू अनुकूलका कर्मचारीहरुलाई अर्थमन्त्री नियुक्त भएलगत्तै महतले विमानस्थलमा सरुवा गराएको आरोप लगाए।

‘अर्थमन्त्री नियुक्त भए लगत्तै अर्थसचिव परिर्वतन गरिएको छ। विमानस्थलमा आफ्नो मातहतका निकायमा कर्मचारी परिवर्तन भएका छन् यसको आशय के हो ?’, उनले प्रश्न गरे।

उनले व्यक्तिगत रुपमा कसैप्रति पूर्वाग्रह नराखेरै शंकाको घेरामा रहेकाले मन्त्रीद्वयले राजीनामा दिनुपर्ने आफ्नो माग राखेको प्रष्ट्याए।

आफ्नै पार्टीका अर्थमन्त्रीविरुद्ध राजीनामा माग गर्दा पार्टीबाट कारबाही हुने खतरा बारे कति जानकार हुनुहुन्छ? भन्ने डिसी नेपालको प्रश्नमा सांसद शर्माले भने, ‘वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता नेपाली कांग्रेसको मूलमन्त्र हो। यसको हनन गर्न खोज्नेलाई कारबाही गर्नुपछ। कांग्रेसकै आधारभूत मान्यतामै अडिग रहेर सत्यको पक्षमा मत प्रकट गरिरहेको छु।’

उनले आफ्नै पार्टीका नेता भएपनि गलत प्रवृत्तिको विरुद्धमा आवाज उठाएको जानकारी दिए।

सांसद शर्माले विमानस्थलमा सुरक्षा र अध्यागमन बाहेक अन्य विभागीय निकाय अर्थ मन्त्रालयकै रहेकाले प्रमुख जिम्मेवारी अर्थमन्त्री र त्यसपछि गृहमन्त्रीबाट भएको बताउँदै कमजोरीको आत्मसात गर्दै पदबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.