प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

डिसी नेपाल
१२ साउन २०८० १०:२३
84
Shares

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्किएका छन्। प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण गरेका हुन्।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए।

सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए। सो अवसरमा प्रधानमन्त्री दाहाले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो। उनीहरूबीच कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उहाँहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.