वन मन्त्रालय विकासको बाधक होइन साधक बन्न चाहन्छ : वनमन्त्री डा. महतो

डिसी नेपाल
१३ साउन २०८० ६:३२
48
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपाल वनको सही सदुपयोग र संरक्षणबाट समृद्ध बनाउन सकिने बताएका छन्। उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नको लागि पनि जंगलमा जडिबुटी र फलफूलको खेती गर्नुपर्नेमा जोड दिए।

शुक्रबार काठमाडौंमा आयोजित वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको प्रथम वार्षिकोत्सव तथा छलफल कार्यक्रम-२०८० लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री महतोले वनसम्बन्धी धेरै संघ तथा संस्था भएपनि सबैको उद्देश्य भनेको वनको संरक्षण नै भएकोले सबैले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। यद्यपि वन संरक्षणको काम भने सन्तोषजनक रुपमा नभएको उनको गुनासो थियो।

उनले वन संरक्षण गर्ने संघ तथा संस्थाहरुलाई मन्त्रालयको तर्फबाट सधैं साथ र सहयोग रहने पनि विश्वास दिलाए।
उनले भने, ‘म त तपाईँहरुलाई प्रोत्साहन गर्न चाहन्छु । हामी सबैको साझा उद्देश्य छ-वनको संरक्षण गरौं।’

वनको उचित संरक्षण नहुँदा आज वातावरणमा ठूलो प्रभाव देखिएको र चुरे आसपासमा पानीको मुहान पनि सुक्न थालेको मन्त्री महतोको टिप्पणी छ। मन्त्री महतोले संघीयताको असली कार्यान्वयन आफ्नो मन्त्रालयबाट भएको पनि स्मरण गराए।

उनले भने-‘आज वन मन्त्रालय भनेको शरिरको टाउकोमात्रै भएको छ, अरु अंग भनेको प्रदेश र स्थानीय तहमा गएका छन्। सबै तहका सरकारबीच समन्वयको खाँचो छ। सबै मिलेर वन तथा वातावरण जोगाउने काम गरौं।’

मन्त्री महतोले अहिले आफू नेतृत्वमा रहेको वन मन्त्रालय विकासको विरोधी मन्त्रालयजस्तो देखिएको भन्दै आफूहरुले त वन जोगाउनको लागि कानून, ऐन र नियमानुसार काम गरेको सुनाए।

उनले भने-‘झट्ट हेर्दा हाम्रो मन्त्रालय विकासको विरोधीजस्तो देखिएको छ। तर, हाम्रो मुख्य दायित्व भनेको नै जंगल जोगाउने हो। हामीले आफ्नो ऐन, नियम र कानूनमा टेकेर काम गर्दा हामीलाई विकासविरोधी जस्तो देखाउने भाष्य खडा भएको छ। यो गलत छ।’

यद्यपि उनले आफ्नो मन्त्रालय समय सान्दर्भिक, स्मार्ट र समयको मागलाई सम्बोधन गर्नेगरि अघि बढ्ने पनि योजना सुनाए।

उनले राष्ट्रसेवक कर्मचारीलाई व्यक्तिको भन्दापनि देश र जनताको हित हुनेगरि सुदूर भविष्यलाई ध्यानमा राखेर निर्णय लिन र काम गर्न सुझाव दिए।

उनले भने, ‘हामी भनेको त अस्थायी सरकार हौं, तपाईँहरु (कर्मचारी) भनेको यो देशको स्थायी सरकार हो। तपाईँहरुले व्यक्तिलाई हेरेर होइन, राष्ट्रको हितलाई हेरेर निर्णय लिनुहोस्। अनि त्यहीअनुसार काम गर्नुहोस्। तपाईँहरु स्थायी सरकार भएकोले स्थायी भिजन बनाउनुहोस्।’

उनले आज नेपालका वनबाट ठूलो मात्रामा आफैंमा उम्रिने झ्याउहरुमा प्रतिबन्ध लगाउनु गलत भएको पनि टिप्पणी गरे। उनले भने,‘यो न्याचुरल कुरा हो, आँफैं उम्रिने झ्याउ किन बन्द गरियो? यो के कारणले बन्द गरियो भनेर सोध्दा यसको कुनै कारण नै छैन। हो, यही हो विडम्बना।’

उनले वन व्यवस्थापनकै नाममा अहिले जंगल दोहनको काम भैरहेकोप्रति पनि आक्रोश पोखे। उनले दलैपिच्छे उपभोक्ता समितिहरु बनाउनुपनि गलत भएको तर्क गरे।

सबैको उद्देश्य एउटै भएपछि दलैपिच्छे उपभोक्ता समिति बनाउनु नै गलत भएको उनको तर्क छ। उनले सागरनाथ वन विकास परियोजनाका कर्मचारीलाई पछिल्लो १२ महिनादेखि तलब सुविधा दिन नसक्नुको कारण पनि खुलाए।

उनले काठको मापन विधि नै वैज्ञानिक नभएको उनको तर्क छ। त्यही फर्मुलाको कारण काठको विक्री तथा वितरण हुन नसकेको उनको भनाइ छ।

अहिले मानव र वन्यजन्तुवीच द्वन्द्व सिर्जना भैरहेकोप्रति सचेत गराउँदै उनले आगामी दिनमा मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउनेगरि सबै सरोकारवाला निकायले सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

पछिल्लो समय जंगली जनावरको आक्रमणको कारण सयौंको संख्यामा नेपालीले ज्यान गुमाउनु परेको भन्दै यसतर्फ सबैजना गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

उनले ४५ प्रतिशत रहेको जंगलले नेपालको कुल ग्राहस्थ उत्पादनमा कति योगदान दिन सकेको छ भनेर पनि हेर्नुपर्ने सुनाए । विश्वका अन्य देशहरु खाडी मुलुकले तेल बेचेर आफ्नो देशलाई समृद्ध बनाएको उल्लेख गर्दै नेपालले पनि आफ्नो देशमा भएका प्राकृतिक साधन र स्रोतलाई सही उपयोग गरी मुलुकको समृद्धिमा योगदान पुर्याउनुपर्ने बताए।

तर, नेपालमा वनलाई दोहन गर्ने गलत परिपाटी र परम्परा बसेको भन्दै मन्त्री महतोले यसरी कसरी देश समृद्ध हुन्छ भन्दै प्रश्न गरे। उनले अहिले चुरेको पनि त्यस्तै समस्या विकराल बनेको बताए।

मन्त्री महतोले अब वन पर्यावरण पयर्टनको विकासमा जोड दिनुपर्ने बताए। दक्षिण अफ्रिकाहरुले इको–टुरिज्मलाई बढावा दिएर विकासको लय समातेको भन्दै नेपालले पनि इको-फोरेष्ट, इको-टुरिजमलाई बढावा दिनुपर्ने मन्त्री महतोको भनाइ छ।

उनले जंगलमा फलफूल लगाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए। फलफूल लगाउन सकिए जंगली जनावर मानव बस्ती र बालीनाली भएको ठाउँमा नआउने उनको भनाइ छ।

उनले कतिपय द्धेद्ध नीतिहरुको भने अब पूनरावलोकन गर्नुपर्नेमा जोड दिए । वनलाई बढाउनको लागि प्रतिष्पर्धा होस र सँगसँगै उत्पादन पनि होस भन्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.