केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालको निर्देशन- पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनी गर्नुस्

डिसी नेपाल
१७ साउन २०८० १६:२६
32
Shares

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितको बैठकमा पार्टी पुनःनिर्माण गर्नुपर्ने बताएका छन्। आजदेखि यहाँ सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले सबै केन्द्रीय सदस्यहरुलाई पार्टी पुनःनिर्माणमा लाग्न निर्देशन दिए।

“अहिले देशको राजनीतिक जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ”,उनले भने।

उनले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरुपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिए। सरकारले देश र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ संकल्पका साथ अगाडि बढ्ने पहल गरिरहेको बताए।

उनले देशको राजनीतिक समीकरण र राजनीतिक उतारढताव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको बताए। नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकबाट कम्युनिष्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताए।

केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र जनताको आवश्यकतानुसार अगाडि बढ्न सहज वातावरण बनाउने उनको विश्वास छ ।

“राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढीकरण गर्न केन्द्रीय समितिले छलफल र निष्कर्ष निकाल्ने छ”, उनले भने।

अध्यक्ष दाहालले देशको राजनीतिमा देखापरेका विभिन्न विचार र प्रवृत्तिका बारेमा र पार्टीभित्रकै विगतका स्थितिका सिंहावलोकन र समीक्षा गर्दै आउने दिनमा नतिजामुखी काममा केन्द्रित हुन आवश्यक रहेको बताए।

“यस बैठकले जनतामा उत्पन्न भएको आशा र भरोसाका स्थितिलाई सङ्गठनमा रुपान्तरण गर्ने, जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्ने अभियानमा बदल्नुछ। केन्द्रीय समितिको काँधमा त्यही मुलभूत जिम्मेवारी रहेको छ”, उनले भने।

पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा धु्रवीकरणका नयाँ प्रक्रिया देखापरेको उल्लेख गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशमा त्यसको प्रभाव परिरहेको बताए।

“आउने दिनमा अझ बढी प्रभाव पर्ने संकेत देखिएको छ । त्यस्तो स्थितिमा देशको स्वतन्त्रता, राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनतालाई सुदृढ गर्न बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ”, उनले भने।

अध्यक्ष दाहालले राजनीतिमा चुनौती र अवसर सँगसँगै आउने भन्दै उहाँले चुनौतीलाई अवसरमा बदल्ने विगतको उदाहरणबाट पाठ लिएर अगाडि बढ्नुपर्ने बताए। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.