अध्यक्ष दाहालको पक्षमा उभिए नारायणकाजी, अधिकांश केन्द्रीय सदस्यले गरे नेतृत्वको आलोचना
काठमाडौं। नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समितको बैठकमा सहभागी केन्द्रयि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।
बुधबारदेखि सुरु भएको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् भने आज बिहीबार दोस्रो दिन पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
माओवादकिो केन्द्रीय समितको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छनु्। उनीहरुले पार्टी कमजोर हुनुको मुल कारक नेतृत्व नै रहेको धारणा व्यक्त गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेपनि पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने अध्यक्ष दाहाल र वर्तमान सरकारको बचाउमा उत्रिएका छन्। आजको बैठकमा पार्टीका उपाध्यक्ष श्रेष्ठले आफ्नो धारणा राखेका छन्। उनले अध्यक्ष दाहालको पक्षमा दृढतापूर्व उभिँदै वर्तमान सरकारको बचाउमा समय खर्चिएको ती केन्द्रीय सदस्यले बताए ।
अहिलेको सरकारका कामले जनतामा आशाको सञ्चार भएको भन्दै नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको प्रशंसा गरेका छन्। अध्यक्षकै अगुवाइमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको बताउँदै भ्रष्टाचारमा संलग्न कसैलाई नछोड्ने बताएका छन्। ती केन्द्रीय सदस्यका अनुसार नेता श्रेष्ठले पार्टी भित्रकै नेताहरु भ्रष्टाचारमा संलग्न भएको देखिएमा नछाड्ने चेतावनी दिएका हुन्।
बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व र उनको सचिवालको खोइरो खनेका थिए । नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री दाहालको सचिवालयले कार्यकर्ताहरुलाई बेवास्ता गर्दै नेतृत्वसँगको भेटवार्ताको समय मिलाउन सदैब आनाकानी गर्ने गरेको आरोप लगाएका थिए ।
पाँच दिनसम्म चल्ने बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेको बताइएपनि अध्ययनका लागि अझैसम्म प्राप्त नगरेको केन्द्रीय सदस्यहरुले गुनासो गरेका छन् ।







डिसी नेपाल








Facebook Comment