सुन तस्करी प्रकरण

अनुसन्धानमा प्रहरीको संलग्नता गराउने गृहमन्त्रीकाे प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार, सिंहदरबारमा भनाभन

डिसी नेपाल
१८ साउन २०८० २२:१२
2.2k
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भनाभन भएको छ।

विमानस्थलबाट तस्करी भएको करिब सय किलो सुन तस्करीको अनुसन्धानमा प्रहरीलाई संलग्नता नगराएको विषयमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच भनाभन भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार भएकाे छलफलमा उनीहरुबीच भनाभन भएको एक सहभागीले बताए।

राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि श्रेष्ठले अनुसन्धान निचोडमा पुर्‍याउन कठिन हुने र सरकारको काम प्रभावकारी नदेखिने बताएका थिए।

‘गृहमन्त्रीज्यूले राजश्वको काम निरन्तर दिनुपर्ने तर संगठित अपराध अनुसन्धानमा प्रहरीलाई सहभागी गराउनु पर्ने धारणा राख्नु भएको थियो तर प्रधानमन्त्रीज्यूले मान्नु भएन’, छलफलमा सहभागीमध्ये एकले भने।

बिहीबार साँझ प्रधानमन्त्रीलाई दबाब दिन दलबलसहित पुगेका गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्रीको छलफलपछि आफ्नो मन्त्रालय नगई बाहिरिएका थिए।

‘प्रहरी प्रमुख वसन्त कुँवर र सिआईबी प्रमुख किरण बज्राचार्यलाई लिएर प्रधानमन्त्रीको पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान प्रहरीलाई दिनु पर्ने प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरेपछि गृहमन्त्रालय नगई बाहिरिएका छन्’, स्रोतले भन्यो।

विभागको टोलीले साउन ३ गते करिब सय किलो सुन बरामद गरेपछि अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने पक्षमा उभिएका थिए । तर गृहमन्त्रीको सो चाहानामा प्रधानमन्त्रीले वेवास्था गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.